Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकामा सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्ने, निषेधाज्ञा अवधि थप गर्न आग्रह

उपत्यकामा सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्ने, निषेधाज्ञा अवधि थप गर्न आग्रह

दैनिकी न्यूज

९, भाद्र २०७७
उपत्यकामा सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्ने, निषेधाज्ञा अवधि थप गर्न आग्रह
images

काठमाडौँ । उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ ।

उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा सङ्क्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको पीसीआर निषेधाज्ञाको अवधिभित्रै परीक्षण गर्ने निर्णय भएको फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्नुपर्ने सङ्ख्या बढ्नसक्ने भएकाले बढेका व्यक्तिको उपत्यका नगरपालिकाले तालिका बनाएरै पीसीआर परीक्षण गर्छ भन्नुभयो । काठमाडौँ महानगरपालिकामा १५ हजार, ललितपुर महानगरमा दुई हजार र बाँकी अन्य १६ वटा नगरपालिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्ने योजना फोरमले बनाएको छ ।

उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारबाटै १८ वटा पालिकामा ‘फोकल पर्सन’ तोक्ने छ । फोरमले उपत्यकाका सबै नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस अघिको बैठकले भदौ ९ गतेसम्म उपत्यकाका नगरपालिकाको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

फोरमले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह गरेको छ । भारत बाहेकका अन्य मुलुकबाट नेपाल फर्कने नागरिकलाई तीनै तहको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार एकीकृत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेमा फोरमले जोड दिएको छ । नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा घना बस्ती भएकाले कुनै पनि बेला सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्छ । अत्यन्त घना बस्ती रहेको सङ्घीय राजधानीमा कोरोना सङ्क्रमण समुदायमै फैलियो भने नियन्त्रण गर्न धेरै कठिन हुन्छ भन्नुभयो ।

कोरोना रोकथाम र नियन्त्रण गर्न उपत्यकाका सबै नगरपालिका एकै ठाउँमा उभिएको समेत फोरमले जनाएको छ । उपत्यकाका सबै नगरपालिका प्रमुखले यस अघिदेखि नै कोरोनाको उपचार नपाएर पीडित बन्नुपर्ने अवस्था आउन नदिने बताउँदै आएका छन् ।

महामारीको समयमा कोरोना सङ्क्रमितको उपचार गर्नु स्थानीय सरकारकोे दायित्वभित्रै पर्ने भएकाले उपत्यकाका नगरपालिका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षणमा उच्च प्राथमिकता दिन लागिएको फोरमले जनाएको छ ।

फोरमले अहिले स्थानीय तहको सबै ध्यान समुदाय स्तरमै फैलन लागेको कोरोनाको रोकथाम र नियन्त्रणमा केन्द्रित भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुुभयो ।

गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - ०६:१५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology