ललितपुर । वागमती प्रदेशमा कोरोनाबाट गम्भीर भएका १३ जनालाई भेन्टिलेटरमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो प्रदेशका ७१ जनालाई आइसियु र थप १३ जनालाई भेन्टिलेटरमा राखिएको हो ।
विज्ञहरुकाअनुसार गम्भीर अवस्थाका कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखिन्छ । भेन्टिलेटरमा राखिएको व्यक्ति कमैमात्र निको हुने गरेका छन् । संक्रामक रोग तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले गम्भीर अबस्थाका संक्रमितलाई अन्तिम अवस्थामा भेन्टिलेटरमा राख्ने गरेको बताए । भेन्टिलेटर अन्तिम उपचार गर्न राख्ने ठाउँ हो, कोरोनाबाट संक्रमितलाई सो ठाउँमा राख्ने भनेको गम्भीर अबस्था भएर हो जहाँ राखिएको विरामी कमै मात्र निको हुन्छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्ला सहित १३ जिल्ला रहेको सो प्रदेशमा पछिल्लो दिन कोरोनाका संक्रमित ह्वात्तै बढेका छन् ।
पछिल्लो २४ घण्टामा वागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा पछिल्लो २४ घण्टामा ३ सय १ जना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । जिल्ला प्रशासन कार्यालयले संक्रमणको चेन व्रेक गर्न लगाएको निषेधाज्ञा १७ गतेसम्मलाई थप गरेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश १ को विराटनगरमा पनि एक जनालाई भेन्टिलेटरमा राखिएको छ । सो प्रदेशमा १६ जनाको आइसियुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सो प्रदेशमा १ जना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाले भयावह पारेको प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । सो प्रदेशमा ४९ जनाको आइसियुमा उपचार भइरहेको छ ।