काठमाडौँ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सबैभन्दा बढी जोखिममा परेका छन्। अग्रभागमा खटिएर बिरामीको उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूमा संक्रमण बढ्दो छ। लकडाउन, निषेधाज्ञाको प्रभावकारी व्यवस्थापन र सीमा सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मीहरूमा पनि कोरोना संक्रमणले तीव्रता लिएको छ। अर्कातिर सरकारले जोखिम भत्ता दिने निर्णय गरे पनि सुरक्षाकर्मीले अहिलेसम्म पाएका छैनन्। स्वास्थ्यकर्मीका लागि भत्ताबापतको रकम निकासा भइसक्दा पनि सबैले पाइनसकेको स्थिति छ। यसकारण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल कमजोर भएको छ।
अहिलेसम्म देशभरका ५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार केही चिकित्सकको स्वाब परीक्षण भइरहेको छ, रिपोर्ट आउन बाँकी छ। उनका अनुसार हालसम्म मेडिकल अफिसर ९चिकित्सक० १ सय ४५, नर्स ९५ प्यारामेडिक्स ५१, ल्याब कर्मचारी ३२ र अस्पतालका कर्मचारी तथा अन्य गरी १ सय ६० जना संक्रमित भएका छन्।
‘धेरैजसो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसक्नुभएको छ भने केही उपचारकै क्रममा हुनुहुन्छ,’ उनले भने, ‘यो क्रम बढ्न पनि सक्छ।’
संक्रमितको उपचारमा सबैभन्दा बढी खटिने स्वास्थ्यकर्मी हुन्। उनीहरू संक्रमित हुँदा बिरामीको उपचारमा बाधा उत्पन्न हुन्छ।
‘स्वास्थ्यकर्मी नै संक्रमित भए कसले उपचार गर्छ,’ डा। गौतमले भने, ‘त्यसैले उहाँहरू सजग भएर आफ्नो काममा खटिनुभएको छ।’
उपचारमा निरन्तर जुटिरहेका धेरै स्वास्थ्यकर्मीले सरकारले दिने भनेको जोखिम भत्ता अझै नपाएको गुनासो गरेका छन्। जबकि असार मसान्तसम्मको ७२ करोड २० लाख रूपैयाँ निकासा भइसकेको जनाइएको छ।सरकारले जारी गरेको जोखिम भत्तासम्बन्धी निर्देशिकाअनुसार नमुना संकलनमा खटिएका कर्मचारी, नाकामा काम गर्ने स्वास्थ्यकर्मी, कोरोना परीक्षण गर्ने ल्याबका कर्मचारी, इडिसिडीमा काम गर्ने कर्मचारी र अस्पतालमा कोरोनाकै बिरामीको व्यवस्थापन गर्ने स्वास्थ्यकर्मीलाई कोभिड–१९ सम्बन्धी निर्देशिकामा उल्लेख गरिएबमोजिम भत्ता दिइने मन्त्रालयले दाबी गरेको छ।
कोरोना संक्रमण नियन्त्रण र शान्ति सुरक्षामा यतिखेर करिब ५० हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र ३० हजारभन्दा बढी नेपाली सेनाको परिचालन गरिएको छ। तीमध्ये सडकमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी भने कोरोनाको उच्च जोखिममा छन्। पर्याप्त सुरक्षा सामग्रीबिनै चेकजाँचमा संलग्न हुनुपर्ने भएकाले उनीहरू जोखिममा परेका हुन् ।
देशभर शान्तिसुरक्षाको जिम्मा पाएको नेपाल प्रहरी यतिबेला सबैभन्दा बढी संक्रमणको चपेटामा परेको छ। लकडाउन सुरु भएलगत्तै प्रहरीमा संक्रमण देखिएको थियो। अहिलेसम्म नेपाल प्रहरीका डिआइजी, एसएसपी, एसपी, डिएसपी, इन्स्पेक्टरदेखि जवानसम्मै संक्रमणको चपेटामा परेका छन्। नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमति भइसकेका छन्। तीमध्ये ६ सय ४८ जना निको भएर काममा फर्किसकेका छन् भने कन्ट्याक्ट टे«सिङमा रहेका करिब २ हजार प्रहरीको स्वाब संकलन भइरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार अग्रभागमा खटिएका प्रहरी अधिकारी सबैभन्दा बढी जोखिममा छन्। ‘नेपाल प्रहरीको काम जनतासँग प्रत्यक्ष संवादमा रहनुपर्ने, दिनानुदिन प्रत्यक्ष खटिनुपर्ने तथा अपराधी पक्राउ गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने जिम्मेवारी भएकै कारण सर्वसाधारणको सम्पर्क बढी हुन्छ, त्यसकारण पनि बढी जोखिम छ,’ प्रवक्ता एसएसपी कडायतले भने। नेपाल प्रहरी प्रत्यक्ष जनतासँग सरोकार राख्ने निकाय भएकाले अन्य सुरक्षाकर्मीभन्दा बढी जोखिम नेपाल प्रहरीमा परेको छ। संक्रमणको जोखिम रहेकै कारण प्रहरीले दुई नम्बर गणलाई संक्रमित राख्ने आइसोलेसन वार्ड बनाएको छ। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी पनि जोखिममुक्त छैन।
नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।