Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

दैनिकी न्यूज

१७, भाद्र २०७७
उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
images

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको छ ।

‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको छ । मोडालिटी तय गरेपछि बुधबार थप निर्णय हुन्छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने ।

होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको छ भने निर्माणजन्य कामलाई खुला गरिने सम्भावना छ । सो विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ ।

उपत्यकामा कोरोना संक्रमण बढेपछि गत ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ ९आज० मध्यरातिबाट सकिँदैछ ।

मंगलबार काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये काठमाडौंका ३ सय ९३, ललितपुरका ५८ जना र भक्तपुरमा ३० जना छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - ०६:३७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology