Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

संक्रमितका परिवारलाई घरमै थुनेर वडाध्यक्षले लगाइदिए ताला

संक्रमितका परिवारलाई घरमै थुनेर वडाध्यक्षले लगाइदिए ताला

दैनिकी न्यूज

१९, भाद्र २०७७
संक्रमितका परिवारलाई घरमै थुनेर वडाध्यक्षले लगाइदिए ताला
images

काठमाडौं । कोभिड–१९ संक्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्। करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो। यसपछि श्वासप्रश्वासमा समस्या आएपछि हाल उनको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ।

कोरोना संक्रमित परिवारलाई होम आइसोलेशनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा मारिदिएपछि पीडित परिवार थप मानसिक तनाबमा परेको संक्रमितका परिवारले बताएका छन्।

वडाध्यक्षसहितको टोलीले संक्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरागरी बस्ने पाँच जना गरी नौ जना घरभित्र नै राखेर घरको मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई दिइ केही परे छिमेकीलाई भन्नु भनेर गएको परिवारले जनाएका छन्। घरमा बाहिरबाट ताल्चा मारिदिएपछि घरभित्र रहेका वृद्धवृद्धा र साना बालबालिका त्रसित भएको बताउँदै वडाध्यक्ष र छिमेकीले पीडामाथि पीडा थपेको परिवारको गुनासो छ।

भक्तपुर–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भने परिवारकै आग्रहमा ताल्चा मारेको दाबी गरे। भाडामा बस्ने बाहिर जाने आउने गर्दा छिमेकीमा संक्रमण होला भनेर छिमेकी र परिवारले आग्रह गरेपछि ताल्चा मारेको उनको भनाइ छ।

अरु संक्रमितको घरमा डोरीले बाध्ने र घर सिल गर्ने गरे पनि यस घरमा भने प्रहरी र छिमेकीको रोहबरमा ताल्चा मारेर केही परे छिमेकीलाई भन्नु भनेर साँचो छिमेकीलाई दिएको वडाध्यक्ष ह्यौमिखाले जानकारी दिए।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति दुई साता होम आइसोलेशन बस्नुपर्ने र कन्ट्याक ट्रेसिङमा परेकाको सात दिनमा पीसीआर परीक्षण गर्दै आएको उल्लेख गरे।

कमलविनायकमा भने वडाध्यक्ष र छिमेकीले नै परिवारको सहमतिमा बाहिरबाट ताल्चा मार्न भनेपछि प्रहरी रोहवरमा बसेको जनाउँदै पीडितको निगरानी भने छिमेकी र जनप्रतिनिधिले गर्नुपर्ने बताए। रासस

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - २०:१८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology