Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काभ्रेका मण्डनदेउपुरसहित सात स्थानीय तह कोरोनामुक्त, कूल संक्रमितको संख्या २९४

काभ्रेका मण्डनदेउपुरसहित सात स्थानीय तह कोरोनामुक्त, कूल संक्रमितको संख्या २९४

दैनिकी न्यूज

२०, भाद्र २०७७
काभ्रेका मण्डनदेउपुरसहित सात स्थानीय तह कोरोनामुक्त, कूल संक्रमितको संख्या २९४
images

काभ्रे । काभ्रेका सात स्थानीय तह हाल कोरोनामुक्त छन् । जिल्लाका १३ स्थानीय तहमध्ये मण्डनदेउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् । कूल सङ्क्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरमा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म १८२ पुरुष र ११२ महिला सङ्क्रमित भएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये बनेपामा १२८, धुलिखेल नगरमा ३२, पनौतीमा चार, पाँचखालमा चार, नमोबुद्धमा एक, तथा भुम्लु गाउँपालिकामा दुई रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार १११ सङ्क्रमित निको भई उपचारपछि घर फर्किएका छन् भने १७९ विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत छन् । त्यस्तै ३१ ‘होम आइसोलेशनमै उपचाररत रहेको पोष्टले जनाएको छ । काभ्रेमा कोरोना सङ्क्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।

गत असार २ गतेदेखि काभ्रेमा सङ्क्रमण देखा परेको थियो । झाका अनुसार पछिल्लो समय समुदायमा सङ्क्रमण फैलिएकाले सङ्क्रमित दर बढिरहेको हो । “भदौ महिनाको तथ्याङ्कले जिल्लामा सरदर दैनिक १० देखि १५ सङ्क्रमित देखिन्छ”, उनले भने। सङ्क्रमितमध्ये अधिकांशको ‘ट्राभल हिष्ट्री’ नदेखिएको पोष्टले जनाएको छ ।

झाका अनुसार बनेपा नगरपालिका–१३ भैंसेपाटीस्थित स्पाईनल इन्जूरी अस्पतालमा मात्रै जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत सङ्क्रमित छन् । उक्त अस्पतालमा सङ्क्रमण नियन्त्रणका लागि सातादेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ भने अस्पताल र स्थानीय समुदायमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको छ ।

नयाँ सङ्क्रमित देखिए लगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताए । उनले भने, “सङ्क्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पिसिआर परीक्षणको दायरामा आए कोरोना सङ्क्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उनका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’मा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण छ ।

जिल्लास्थित १३ स्थानीय तहमा ९०३ शैयाको क्वारेन्टिन तथा २०९ बेडको आइसोलेशन व्यवस्थित गरिएको छ । हाल ३० पुरुष र ३५ महिला स्थानीय तहको क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ९९९ पुरुष र २०९ महिला क्वारेन्टिनको बसाइँपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ ।रासस

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - ०८:१३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology