Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाले गर्भवतीलाई थप पीडा, परीक्षण गर्न आउने घटे

कोरोनाले गर्भवतीलाई थप पीडा, परीक्षण गर्न आउने घटे

दैनिकी न्यूज

२८, भाद्र २०७७
कोरोनाले गर्भवतीलाई थप पीडा, परीक्षण गर्न आउने घटे
images

काठमाडौँ । कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् ।

पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उनस् डिस्चार्ज भएकी थिइन।

त्यसपछि सिन्धुपाल्चोक गएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उनको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा थप प्रस्ट गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएको थियो । उनले जन्माएको शिशुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

गर्भवती महिलालाई दुःखैदुःख
अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । सिन्धुपाल्चोककी समीक्षा भट्टराई भक्तपुरस्थित कौशलटारमा बस्नुहुन्छ । उनी गर्भवती भएको सात महिना पुग्यो । उनले सिभिल अस्पतालमा नियमित गर्भ परीक्षण गरिन । बन्दाबन्दीको समयमा आकस्मिक रक्तस्राब भएपछि एम्बुलेन्सका लागि उनले सिभिल अस्पतालमा फोन गरिन ।

सिभिल अस्पतालमा एम्बुलेन्सको व्यवस्था थिएन । सम्पर्कमा भएका ट्याक्सी, गाडीलाई हारगुहार गरे तर बन्दाबन्दीले गर्दा नपाएपछि एक जना नेतालाई फोन गरे । नेताले एक जना प्रहरीमा कार्यरत आफन्तलाई भनिदिएपछि उसैको बाइकमा चढेर प्रसूति गृह गइन । नियमित परीक्षणमा नगएपछि रक्तस्राब भएर उनको गर्भ खेर गयो ।

यस्तै जोरपाटीमा बसिकी रुक्मणि सुवेदीले पनि लकडाउनले गर्दा सवारी साधन पाइनन । उनलाई गाह्रो भइसकेको थियो । उनले पनि त्यसअघि थापाथलीस्थित प्रसूति गृहमा नियमित परीक्षण गरेकी थिइन । राजधानीमा भएर पनि सवारी साधन नपाउँदा असह्य पीडाका बीच उनले कोठामै बच्चा जन्माइन । यी दुई प्रतिनिधि पात्र मात्र हुन् । कोरोनाका कारण यस्ता धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन् ।

घट्यो अस्पताल आउने सङ्ख्या
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. सङ्गीता मिश्रले कोरोनाले सबैभन्दा बढी दुःख गर्भवती महिलाले पाएको जानकारी दिए । उनले नियमित परीक्षणमा आउनलाई समेत गर्भवतीलाई कठिन परेको जानकारी दिँदै धेरै कष्ट झेलेर आएकाहरूको भने सहज रूपमै उपचार भइरहेको बताए । कोरोनाका कारण धेरै जना गर्भवती सङ्क्रमित भइरहेको जानकारी दिँदै डा. मिश्रले उनीहरूको परीक्षणमा रहेका चिकित्सक तथा नर्सले पनि ठूलो जोखिम मोलेर सेवा गरिरहेको बताए । उनले सामान्य अवस्थामा दैनिक ८० देखि ८४ जनासम्म प्रसूति गृहमा सुत्केरी हुने गरेकोमा कोरोनाका कारण उक्त सङ्ख्या घटेर ४५ देखि ५५ जनासम्म सीमित रहेको बताए ।

चार महिनामा ८५ जनाको मृत्यु
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष चैत ११ गतेदेखि असारसम्म देशभर ८५ जना गर्भवती महिलाको मृत्यु भएको छ । त्यस महाशाखा अन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्य पौडेलले झन्डै चार महिनाको अवधिमा ८५ जनाको मृत्यु सङ्ख्या सामान्यभन्दा धेरै भएको जानकारी दिँदै सबैभन्दा बढी प्रदेश ५ मा २६ जना गर्भवती महिलाको मृत्यु हुन पुगेको बताए ।

परीक्षण गर्न आउने घटे
मातृ तथा नवजात शिशु प्रमुख डा. पौडेलले कोरोना महामारीको समयमा विगतको तुलनामा गर्भ परीक्षण गर्न आउनेसमेत न्यून रहेको जानकारी दिए । चैत महिनामा मात्र २७ प्रतिशतले गर्भ परीक्षण गर्न आएको उनले जानकारी दिए । त्यस्तै असारमा २२ प्रतिशतले गर्भ परीक्षण गर्न आउने महिलाको सङ्ख्या घटेको छ ।

डा. पौडेलका अनुसार गत वर्ष चैत महिनामा २५ हजार ८०१ महिलाले नियमित गर्भजाँच गराएकोमा यो वर्ष भने १८ हजार ७१० जनाले मात्र गर्भ परीक्षण गराएको बताउनुभयो । गर्भवती महिलाले स्वास्थ्य संस्थामा गई नियमित चारपटकसम्म गर्भ परीक्षण गराउनुपर्ने हुन्छ । यस्तै वैशाखमा गत वर्ष २६ हजार ४१० ले गर्भ परीक्षण गराएकोमा यो वर्ष २० हजार २८० जनाले मात्र गर्भ परीक्षण गराएको बताए ।

घट्न थाल्यो दर
अस्पतालमा प्रसूूति गराउनुुलाई संस्थागत सुुत्केरी भनिन्छ । डा. पौडेलका अनुसार संस्थागत सुत्केरी हुने दर पनि यो वर्ष घटेको छ । गत वर्ष चैतमा २८ हजार ६४९ जना संस्थागत सुत्केरी भएकोमा यो वर्ष चैत महिनामा २५ हजार २६५ जनाले सुत्केरी गराएका छन् ।

गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - ०६:४४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology