Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कसरी होला मन्त्रिमण्डल पुनर्गठन, यस्तो छ तयारी

कसरी होला मन्त्रिमण्डल पुनर्गठन, यस्तो छ तयारी

दैनिकी न्यूज

४, आश्विन २०७७
कसरी होला मन्त्रिमण्डल पुनर्गठन, यस्तो छ तयारी
images

काठमाडौं । सत्तारुढ नेकपाले मन्त्रिपरिषद् पुनर्गठन लगायत चारवटा कार्ययोजनमा केन्द्रीत रहेर छलफल थालेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा संघीय र प्रदेश मन्त्रिपरिषद पुनर्गठनको विषयमाथि नै मुख्यरुपमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी कार्ययोजनामा तीनवटा विकल्पमाथि छलफल भएको छ ।
झण्डै चार घण्टा बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले मन्त्रिपरिषद पुनर्गठन गर्दा अपनाउन सकिने तीनमध्ये एक विकल्पलाई आधारविन्दु बनाउन सकिनेमा आफ्नो धारणा राखेका हुन् ।
पहिलो विकल्प प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउने र सबै नयाँ राख्ने विषयमा छलफल भयो । दोस्रो, सुरुमा मन्त्री भएकालाई हटाउने र पछिल्लोपटक गएकालाई यथावत राख्दै हटाएका स्थानमा नयाँ अनुहारलाई लैजाने भन्ने पनि भयो’ एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘तेस्रो विकल्पमा शुरुमै मन्त्री भएका पनि राम्रो काम गर्नेहरुलाई राख्ने र राम्रो काम गर्न नसकेकाहरुलाई मात्र हटाएर उनीहरुको ठाउँमा क्षमतावानहरु छानेर समावेशी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ भन्ने विकल्पमा छलफल भएको छ ।’

ती सदस्यकाअनुसार आइतबारको छलफलको स्प्रिट पहिलाका सबै हटाउने र सबै नयाँ राख्ने भन्ने नभएकाले यो सरकार गठन भएकै बखत मन्त्री भएकाहरु, जो राम्रो काम गरिरहेका छन् उनीहरुलाई यथावत नै राख्नुपर्छ भन्नेमा अधिकांश सदस्यहरु सहमत भएका छन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएपनि कसलाई हटाउने र कसलाई पठाउने भन्ने पात्रका बारेमा छलफल नभएको बताए । ‘आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको छ, तर कसलाई पठाउने र कसलाई हटाउने भन्ने मापदण्ड यहि हुन्छ भन्ने भैसकेको छैन । यसमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ’ प्रवक्ता श्रेष्ठको भनाई छ ।

प्रवक्ता श्रेष्ठले संवैधानिक आयोगहरुमा गरिने राजनीतिक नियुक्तिका विषयमा समेत सरकारलाई निर्णय गर्न सजिलो हुनेगरी छलफल भएको जानकारी दिए । तर संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने विषयमा पनि निर्णय नभएको उनले बताए ।
त्यस्तै केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल भएको छ ।

नेकपामा हाल ४४० जना केन्द्रीय सदस्य छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा विभिन्न कारणले ७ जना केन्द्रीय सदस्यको पद रिक्त छ । बंशिधर मिश्र, समिममिया अन्सारी, तिलक परियार, रविन्द्र अधिकारी, धर्मनाथ यादव, डिआर पौडेललगायतको पद रिक्त छ । त्यस्तै नेकपाको केन्द्रीय समितिमा १० प्रतिशत मनोनयन गर्न सक्ने व्यवस्था छ । त्यसमध्ये चार जनालाई मनोनयन गरिएको छ । त्यस हिसाबले अब झण्डै ४५ जना केन्द्रीय सदस्य थपिने छन् ।
त्यस्तै, स्थायी समिति सदस्य रहेका अग्नि सापकोटा सभामुख भएपछि ४५ सदस्यीय नेकपाको स्थायी समितिमा हाल ४४ जना सदस्य मात्र छन् ।

images
प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १९:५८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology