Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

झापा कारागारमा पनि देखियो कोरोना, कैदीबन्दी त्रसित

झापा कारागारमा पनि देखियो कोरोना, कैदीबन्दी त्रसित

दैनिकी न्यूज

१०, आश्विन २०७७
झापा कारागारमा पनि देखियो कोरोना, कैदीबन्दी त्रसित
images

झापा । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ ।

गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । उहाँहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।

“कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ”, झापा कारागारका कैदीबन्दीको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने, “राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेका छौँ ।”

उनले हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्मा एक हजार १४३ कैदीबन्दी रहेको बताए । जबकी यो कारागारको क्षमता ३५० मात्र हो । पालो गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको, कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोल मात्र दिने गरेको, साबुनपानी तथा स्यानिटाइजर उपलब्ध नभएको उनले गुनासो गरे ।

अर्का कैदी रमेश पोखरेलले थुनेर राखेका कैदीबन्दीको पनि बाँच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कारागारमा कैदीबन्दीको चाप घटाएर स्वास्थ्य सुरक्षा र उपचारको प्रबन्ध मिलाउनुपर्ने माग गरे । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कैदीबन्दीमा सामाजिक दूरी कायम हुन नसक्ने अवस्था भएकाले सर्वोच्च अदालतले गत महिना दिएको आदेशअनुसार सरकारले कारागारमा कैदीबन्दीको चाप घटाउनु पर्ने उनको धारणा छ । “हामी पनि राज्यका नागरिक नै हौँ”, सङ्क्रमणका बेला बाँच्न पाउने कैदीबन्दीको हकको हनन भइरहेको दाबी गर्दै पोखरेलले भने ।

झापा कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको स्वासप्रस्वास ९दम०का १००, टिबीका २०, किड्नीका आठ, मुटुका १२ , मानसिक बिरामीका ३५, एचआइभीका चार, मधुमेहका ३० र ज्येष्ठ नागरिक ९० जना कैदीबन्दी छन् ।

कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको जनाउँदै झापा कारागारका प्रमुख राजेन्द्र गौतमले अत्यधिक चापका कारण कैदीबन्दीमा सामाजिक दूरी कायम गर्न नसकिने बताए । उनले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेकोे बताए । रासस

images
प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - १०:२१:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology