Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काभ्रे बहुमुखी क्याम्पसका प्रमुख, व्यवस्थापन समितिका अध्यक्ष र सदस्य फरार

काभ्रे बहुमुखी क्याम्पसका प्रमुख, व्यवस्थापन समितिका अध्यक्ष र सदस्य फरार

दैनिकी न्यूज

१०, आश्विन २०७७
काभ्रे बहुमुखी क्याम्पसका प्रमुख, व्यवस्थापन समितिका अध्यक्ष र सदस्य फरार
images

बनेपा । आफूहरूविरुद्ध ठगीको उजुरी परेपछि काभ्रेको बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना फरार भएका छन्।

उनीहरूविरूद्ध साता दिनअघि विद्यार्थी र अभिभावकले ठगीको उजुरी दिएका थिए।

गत शैक्षिक सत्रमा कक्षा ११ र १२ कम्प्युटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरू ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्दा दर्ता गराएका हुन्।

बनेपा इलाका प्रहरी कार्यालयले यही असोज २ गते क्याम्पस प्रमुख केजी बैदार, व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ।

‘पक्राउ पुर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको छ,’ बनेपा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भने।

उनका अनुसार अनुसन्धानका लागि जिल्ला अदालतको आदेशअनुसार तीनै जनाको नाममा पक्राउ पुर्जी जारी गरिएपछि आरोपितको खोजी भइरहेको हो।

उनले भने, ‘आरोपितहररू पक्राउ पूर्जी जारीलगत्तै काठमाडौँमा लुकेको आशंका छ, हामी उनीहरूलाई खोजतलास गरी पक्राउ गर्न खटिरहेका छौँ। आरोपित सबै बनेपा निवासी हुन्।’

क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमा खेलवाड भएको जनाउँदै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले क्याम्पस प्रमुखको राजीनामा मुख्य सर्तसहित विद्यार्थीको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै गत माघ २६ गतेदेखि प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो।

प्रहरी अनुसन्धानका लागि ७ महिनापछि बिहीबार तालाबन्दी खोलिएको अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले बताए।

उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन्।

‘राष्ट्रिय परीक्षा बोर्डले स्नातक तहमा कम्यूटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने र करिकुलम नमिलेका कारण कक्षा ११ का विद्यार्थीलाई परीक्षामा सामेल गराउन नसकिने जानकारी दिएपछि कलेजको ठगीधन्दा खुलेको हो,’ पराजुलीले भने। रासस

images
प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - १०:२७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology