काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट ४ जनाको मृत्यु र ७२४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा २० वर्षीय पुरुष, ७४ वर्षीय पुरुष, ललितपुरमा ७६ वर्षीय पुरुष र भक्तपुरमा ८८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंका ५८३, भक्तपुरका ६३ र ललितपुरका ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ।
त्यसैगरी २४ घण्टामा ११ सय ४७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको छ।
नेपालमा अहिलेसम्म पीसीआर परीक्षणको संख्या ९ लाख ७८ हजार २०४ पुगेको छ। मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।