Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना परीक्षणका नाममा मनपरी शुल्क, शुल्क बढी असुले दर्ता खारेज

कोरोना परीक्षणका नाममा मनपरी शुल्क, शुल्क बढी असुले दर्ता खारेज

दैनिकी न्यूज

१५, आश्विन २०७७
कोरोना परीक्षणका नाममा मनपरी शुल्क, शुल्क बढी असुले दर्ता खारेज
images

काठमाडौं । कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् ।

सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । केही प्रयोगशालासँग बुझ्दा सरकारले तोकेको शुल्कभन्दा दोब्बर रुपैयाँसम्म शुल्क लिएको देखिएको छ ।

काठमाडौंस्थित ह्याम्स अस्पतालले तीन हजार नौ सय, ललितपुरस्थित बी एन्ड बी अस्पतालले तीन हजार आठ सय ९९ रुपैयाँ शुल्क असुल्दै आएको छ । यस्तै, कोरोना परीक्षणको नाममा नेपाल मेडिसिटी अस्पतालले तीन हजार नौ सय, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले तीन हजार नौ सय, सौर्य हेल्थ केयर प्रालिले तीन हजार नौ सय रुपैयाँ असुलेको पाइएको छ ।

यस्तै, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टरले तीन हजार आठ सय ९९, इन्ट्राप्रिड डायग्नोस्टिक सेन्टर थापाथलीले तीन हजार नौ सय रुपैयाँ शुल्क लिने गरेको छ । यी प्रयोगशालाले सो शुल्क निर्धारणको वैज्ञानिक आधार सरकारलाई पेस गरिसकेको बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढी शुल्क लिने गरेको पाइएको भन्दै तत्काल तोकिएको शुल्क कार्यान्वयन गर्न निजी प्रयोगशालालाई निर्देशन दिएको छ । देशभरका ल्याबको नियमन गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत ९ असोजमा एक सूचना जारी गर्दै बढी शुल्क लिएको पाइए लाइसेन्स नै खारेज गरिदिने बताएको छ ।

तर, सरकारले अहिलेसम्म कोरोना परीक्षणबापत बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गरेको छैन ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शुल्कभन्दा बढी पीसीआर परीक्षणको शुल्क लिने अस्पताल र ल्याबको परीक्षण अनुमति खारेज गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले केही प्रयोगशालाले बढी शुल्क लिएको भन्दै २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको बताए ।

डा। गौतमले नेसनल टेस्टिङ गाइडलाइनमा नपरेका र स्वास्थ्य मन्त्रालयले नतोकेको व्यक्तिको परीक्षण गर्ने, सूचीकृत नभएका प्रयोगशाला वा बिचौलियाका रूपमा नमुना लिने वा सहजीकरण गरेको पाइएमा कडा कारबाही गर्न लेखी पठाउने निर्णय भएको बताए ।

राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०६:५०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology