काठमाडौं । सत्तारुढ नेकपाले सचिवालयको बैठक बोलाएको । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए।
ओलीले एकलौटी रुपमा राजदूत लगायतका राजनीतिक नियुक्ति गरेपछि सचिवालय सदस्य र स्थायी समिति सदस्यले उनको कदमप्रति असन्तुष्टि जनाएका थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको थियो।
पार्टीमा सल्लाहै नगरी राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय र स्थायी समितिका सदस्य प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट रहेकै बेला ओलीले प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । नेकपाको असोज ६ गते सचिवालय बैठक बसेको थियो ।