काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या फेरि बढिरहेको छ । कोरोना संक्रमितको संख्याले शुक्रबार नयाँ रेकर्ड राखेको थियो । पछिल्लो २४ घन्टामा २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर संक्रमितको संख्या बढ्ने क्रम रहेको बताए ।
२४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएको थियो । यो संख्यासँगै ८४ हजार ५७० संक्रमित पुगेका छन् ।
त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।
शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार एक स्वकीय सचिव सहित बालुवाटारमा सुरक्षामा खटिएका २८ जना सेनालाई कोरोना संक्रमण भएको छ ।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीसहित प्रधानमन्त्रीओलीको सुरक्षमा खटिने २८ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।