काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा सांसद गगन थापासहित ठूलो संख्याका केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण भएको छ ।
असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि स्वाव संकलन गरेर गरिएको परीक्षणमा ५० जनाभन्दा बढीमा कोरोना पोजिटिभ देखिएको एक नेताले जानकारी दिए । केन्द्रीय सदस्य, कर्मचारी, नेताका स्वकीय सचिव, सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको शुक्रबार स्वाव संकलन गरिएको थियो । सो रिपोर्ट शनिबार आएको हो ।
जसमा थापासहित उनका ससुरा तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायत ५० भन्दा बढीलाई कोरोना संक्रमण भएको स्रोतले जनाएको छ । सांसद थापा पछिल्ला दिन आफ्नो निर्वाचन क्षेत्रका पुगेर मास्क लगायतका सामग्री वितरणमा सक्रिय थिए ।
थापा होम आइसोलेसनमा बसेका छन् । यस्तै केसी पनि घरमै आइसोलेसनमा बसेको बताए । कोरोना संक्रमण पुष्टि भए पनि उनमा कुनै पनि लक्षण देखिएको छैन।