Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अवस्था डरलाग्दो, संक्रमित एक लाख नाघे

अवस्था डरलाग्दो, संक्रमित एक लाख नाघे

दैनिकी न्यूज

२४, आश्विन २०७७
अवस्था डरलाग्दो, संक्रमित एक लाख नाघे
images

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था डरलाग्दो बनेको छ । शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो एक हप्तामा ९६ हजार ५ सय ५१ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा १८ हजार २ सय २६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा प्रत्येक पाँच जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ६ सय जना संक्रमितको मृत्यु भएको छ । देशभर ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्ला तीन महिनायता सबैभन्दा बढी असोजमा संक्रमित थपिएका छन् । संक्रमणदरको ग्राफ दिन प्रतिदिन चुलिँदै गएको छ । पछिल्ला २३ दिनको अवधिमा ४१ हजार १ सय ३ जना संक्रमित थपिएकामा २ सय १७ जनाको मृत्यु भएको छ । १ असोजदेखि २३ असोजसम्म २ लाख ६२ हजार ३ सय २२ जनाको कोरोना परीक्षण गरिएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार असारमा १० हजार ९ सय ६६, साउनमा ९ हजार ३ सय १६, भदौमा ३१ हजार ८१ संक्रमित थपिएका छन् । असारमा २०, साउनमा ६५, भदौमा २ सय ७२ र १ असोजदेखि २३ असोजसम्म २ सय १७ संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ३० हजार ४ सय ९७, ललितपुरमा ४ हजार १ सय ७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ७५ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल
कोरोना भाइरस संक्रमण पुष्टि भएपश्चात् कुनै पनि व्यक्ति आइसोलेसनमा नबसे संक्रमण ऐनअनुसार कारबाही गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई परिपत्र गरेको छ । केही व्यक्तिमा कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

आइसोलेनमा नबसेको पाइएमा संक्रमण ऐनअनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ । पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरू आइसोलेसनमा नबसेको पाइए घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्न प्रवक्ता गौतमले आग्रह गरे । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्न दिएका सबै व्यक्तिलाई रिपोर्ट नआउँदासम्म घरमा क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - ०६:४०:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology