Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पूरै सिटमा यात्रु राख्दा पुरानै भाडादर

पूरै सिटमा यात्रु राख्दा पुरानै भाडादर

दैनिकी न्यूज

२९, आश्विन २०७७
पूरै सिटमा यात्रु राख्दा पुरानै भाडादर
images

काठमाडौं । लामो तथा मध्यम दूरीका सवारी यति बेला सिट संख्याको आधामा मात्र यात्रु राखेर चलिरहेका छन् । सरकारले कोभिड–१९ संक्रमण बढ्न थालेसँगै गरेको लकडाउनका कारण ६ महिना बन्द रहेका लामा दूरीका सवारी असोज १ देखि भाडा थप ५० प्रतिशत बढाएर सञ्चालन भइरहेका थिए । तर, सरकारले गाडीका पूरै सिटमा यात्रु राख्न पाउने निर्णय गरिदिएपछि व्यवसायीले साविककै अर्थात् पुरानो भाडादर लिने भएका छन् ।

यसअघि उनीहरूले आधा सिटमा मात्र यात्रु बोक्दा घाटा सहनुपरेको भन्दै पूरै सिटमा यात्रु बोक्न दिनुपर्ने माग गर्दै आएका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारीका पूरै सिटमा यात्रु बोक्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । केही गाडीले आधा सिटभन्दा बढी यात्रु राखेको, स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र बढी भाडा पनि लिएको पाइएको विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको हो । ‘त्यसैले बढी भाडा लिन नपाउने गरी पूरै सिटमा यात्रु राख्न दिने निर्णय भएको छ,’ ती मन्त्रीले भने, ‘तर स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।’

तर यसबारे सम्बन्धित मन्त्रालय, विभाग र यातायात व्यवसायी जानकार छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीले गत असोज ७ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई जहाजमा जस्तै गाडीमा पनि पूरै सिटमा यात्रु राख्न पाउनुपर्ने माग गरेका थिए । उनीहरूले यसबारे मन्त्रालय र यातायात व्यवस्था विभागको पटकपटक ध्यानाकर्षण गराइसकेका छन् । ‘लामो समयदेखि राख्दै आएको मागबारे मन्त्रिपरिषद्बाट निर्णय भयो भन्ने हल्ला सुनियो । तर यसबारे आधिकारिक रूपमा जानकारी आएको छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘सरकारले गरेको निर्णय मान्छौं ।’ उनका अनुसार अहिले गाडी चढ्ने यात्रु छैनन् । खाली गाडी सञ्चालन गर्नुपर्दा घाटा परेको छ । केही व्यवसायीले त यात्रु नपाएपछि गाडी थन्क्याउनसमेत थालेका छन् ।

यता यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल मन्त्रिपरिषद्ले गरेको निर्णय आफूहरूसमक्ष आइनसकेको बताउँछन् । ‘निर्णय भइसकेको भन्ने सुनेको छु । तर आधिकारिक रूपमा कार्यालयमा जानकारी आइसकेको छैन,’ उनले भने । पूरै सिटमा यात्रु राख्न पाउनुपर्छ भन्ने व्यवसायीको माग जायज भएको भन्दै विभागले भौतिक मन्त्रालयमा सिफारिस गरेको थियो । पूरै सिटमा यात्रु राख्न थालेपछि भने पुरानै भाडादर कायम हुने विभागले जनाएको छ ।

‘भाडा बढाउन पाइने छैन,’ महानिर्देशक हमालले भने, ‘पुरानो भाडादर जे छ, त्यही नै कायम हुनेछ ।’ यता भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मन्त्रिपरिषद्को निर्णयबारे आफूले बोल्न नमिल्ने बताए । ‘मन्त्रिपरिषद्ले गरेका निर्णयको जानकारी सरकारका प्रवक्ताले मात्र दिने भनिएको छ,’ उनले भने, ‘यसबारे हामीले बोल्न मिल्दैन ।’ अहिले पनि कुल सवारी संख्याको ४० प्रतिशत मात्र सञ्चालनमा रहेको व्यवसायी बताउँछन् । गत वर्ष दसैंका बेला २० लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका थिए । अहिले ४ देखि ६ लाख मात्र बाहिरिने हुँदा यातायातको सामान्य सेवाबाटै पनि पुग्न सक्ने अवस्था रहेको विभागले जनायो । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - ०७:४३:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology