काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगलाई कोरोना संक्रमितको समेत परीक्षा लिन आदेश दिएको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको हो । ‘सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नु–गराउनू तथा स्वघोषित संक्रमित व्यक्तिहरूलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू,’ आदेशमा भनिएको छ । अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरसमेतले यो विषयमा बुधबार रिट दायर गरेका थिए । यसैको प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्चको एकल इजलासबाट आयोगका नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी भएको हो । संविधानको धारा १८ मा रहेको समानताको हकले आयोगको निर्णय अयोग्य रहेको सर्वोच्चको ठहर छ । उक्त धाराको उपधारा (२) मा स्वास्थ्य स्थितिको आधारमा भेदभाव गर्न नपाउने व्यवस्था रहेकाले कोरोना संक्रमण भएकै कारण परीक्षा दिनबाट वञ्चित गराउन नमिल्ने आदेशमा भनिएको छ । आदेशमा थप भनिएको छ, ‘यस्तो महामारीको समयमा परीक्षा सञ्चालन हुन गइरहेको अवस्थामा लोकसेवा आयोगको मापदण्डले संक्रमित व्यक्तिहरू मात्र परीक्षा दिनबाट वञ्चित भई उनीहरूको संविधानप्रदत्त पेसा–रोजगार गर्न पाउने हक, स्वास्थ्य अवस्थाको आधारमा विभेदविरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको अधिकारको समेत उल्लंघन हुन जान्छ ।’ लोकसेवा आयोगले १२ असोजमा ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७’ जारी गरेको थियो । यसको बुँदा नं. ८ को (१)मा लेखिएको छ, ‘परीक्षार्थी आफूले कोभिड– १९ को संक्रमणबाट संक्रमित भए–नभएको स्वयंले घोषणा गर्नुपर्नेछ । संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न पाइने छैन ।’ आदेशमा आयोगको यस निर्णयले संक्रमितले आफ्नो स्वास्थ्य अवस्था लुकाउने र यसले अन्य स्वस्थ व्यक्तिलाई समेत सर्ने जोखिम हुने भएकाले यो बुँदा हटाउन भनिएको छ । उक्त बुँदा कार्यान्वयन नगर्न–नगराउन आदेश दिएको छ ।