काठमाडौं । सरकारले सार्वजनिक गाडीमा चढ्ने यात्रुका लागि नयाँ नियम ल्याएको छ र त्यसलाई अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । सार्वजनिक सवारी साधन चढ्ने यात्रुले अनिवार्य फेस सिल्ड (भाइजर) लगाउन सरकारले भनेको हो । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ । सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए । उनले यात्रु आफैं आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने पनि बताए । बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर पनि लगाइराख्ने र फेस सिल्ड अनिवार्य रुपमा प्रयोग गर्नेलगायतका सावधानी अनाए कोरोनाबाट जोगिन सकिने उनले बताए । अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ । विभागले फेससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको छ । विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यत्राुलाई आग्रह रेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ ।