Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शव व्यवस्थापनका लागि छुनु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण हुँदै

शव व्यवस्थापनका लागि छुनु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण हुँदै

दैनिकी न्यूज

६, कार्तिक २०७७
शव व्यवस्थापनका लागि छुनु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण हुँदै
images

बनेपा । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले शव व्यवस्थापनका लागि मानिसले छुुनुु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण गरिरहेका छन् ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव छुनका लागि डर मान्नुपर्ने अवस्था आएपछि विद्यार्थीहरूले यस्तो भ्यान निर्माण गर्न लागेका हुन् । रिमोटबाट चल्ने यो भ्यान तिहारसम्ममा तयार हुने विद्यार्थीको अपेक्षा छ । धुलिखेल अस्पतालमा नेपालको पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भक्तपुरबाट टोली ल्याएर शव उठाइएको थियो । काठमाडौं विश्वविद्यालय ९केयू० स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले रोबो भ्यानमार्फत अस्पतालमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न सकिने अवधारणा अगाडि सारेका थिए ।

आफ्ना विद्यार्थीले अघि सारेको रोबो भ्यान बनाउने योजनालाई विश्वविद्यालयले नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी ९नास्ट० मा प्रस्ताव पेस गरेको थियो । केयूका विद्यार्थीले पेस गरेको प्रस्ताव नास्टले स्वीकृत गरेको थियो । नेपालमा नै पहिलो पटक निर्माण सुरु गरिएको रोबो भ्यान निर्माणका लागि करिब १० लाख रुपियाँ लाग्ने बताइएको छ ।

रोबो भ्यान निर्माणका लागि नास्टले काठमाडौं विश्वविद्यालयलाई १० लाख रुपियाँ सहयोग उपलब्ध गराएको विश्वविद्यालयका एसोसियट डीन डा बीमप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि कन्भियर बेल्टको प्रयोग गरेर रोबो भ्यान निर्माण गरिएको बताए । ‘रोबो भ्यान निर्माणपछि शव व्यवस्थापन गर्न खटिएका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको जोखिमबाट टाढा राख्न सहयोग गर्छ,’ श्रेष्ठले थपे ।

विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूको एक समूूहले अभियान्त्रिक कर्मशाला टिम बनाएर रोबो भ्यान बनाउने काम अगाडि बढाएका हुन् । अभियान्त्रिक कर्मशाला परियोजनाको नेतृत्व तथा रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले रोबो भ्यानले मृत शरीरलाई अस्पतालको शय्‍याबाट शव वाहन र शव वाहनबाट घाटसम्म स्थानान्तरण गर्न सहयोग गर्ने बताए । ‘विभिन्न भाइरसका कारण मानिसलाई छुनै नहुने अवस्था आएकाले उक्त भाइरसबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनका लागि खट्ने व्यक्तिहरू सङ्क्रमित हुने डर भएकाले शव व्यवस्थापन गर्न नयाँ प्रविधिको विकास गर्‍यौँ,’’ कार्कीले थपे ।

कार्कीले एउटा शव व्यवस्थापन गर्न १० भन्दा बढी जनशक्ति लाग्ने र शव व्यवस्थापन गर्ने व्यक्तिसमेत सङ्क्रमित हुने अवस्था हुन्थ्यो तर रोबो भ्यान निर्माणपछि एक व्यक्तिले नै सबै काम गर्न सक्ने बताए । रोबो भ्यान दुई भागको रहेको छ । रिमोट कन्ट्रोलका माध्यमबाट एउटा भागले मृत शरीरलाई उचालेर रोबो भ्यानमा राख्ने र अर्को भागले मृत शरीरलाई रोबो भ्यानबाट शव वहानमा राख्न सहयोग गर्छ ।

करिब तीन महिनाअघिबाट सुरु गरिएको रोबो भ्यान बनाउने कामको एउटा भागको करिब ९० प्रतिशत काम सकिएको छ । डमी मृत शरीर राखेर रोबोको परीक्षणसमेत गरिसकिएको छ । रोबो भ्यानको सम्पूर्ण काम तिहारअघि सकिने एसोसियट डीन डा श्रेष्ठले बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ०६:५३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology