Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जोखिम ख्याल नगरी बजारमा चहलपहल

जोखिम ख्याल नगरी बजारमा चहलपहल

दैनिकी न्यूज

१०, कार्तिक २०७७
जोखिम ख्याल नगरी बजारमा चहलपहल
images

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेपनि दशैका लागि भन्दै सर–सामान किन्न गाउँबाट आएका नागरिकका कारण यहाँका बजारमा भीड बढ्न थालेको हो ।

गाउँबाट आएका नागरिकले बजारमा नयाँ लुगा, चिनी, नुन, साबुनलगायतका खाद्यान्न किन्न थालेपछि बजारमा चहल पहल पनि बढ्न थालेको हो । बजारमा नागरिकको भीड बढेसँगै यहाँका प्रहरीलाई नागरिकको सामाजिक दुरी कायम गराउनदेखि अन्य कोरोना सुरक्षामा सावधानी गराउन समस्या हुँदै आएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले बताए ।

दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका व्यापारी मानबहादुर धामीले कोरोनाले केही महिना यहाँका बजार सुनसान भएको तर दशै आएसँगै सर–सामान किन्ने गाउँबाट आउने मान्छेका कारण बजारका होटेल तथा पसल भरीभराउ भएको बताए ।


शिखर नगरपालिका–१० का स्थानीयबासी रमेशबहादुर साउदले दशैँमा मीठो मसिनो खाने र टाढा रहेका आफन्तबीच भेटघाट गर्ने, ठुलाबडाको हातबाट टीका ग्रहण गर्ने लिने प्रचलन रहे पनि यो वर्ष स्थिति अनुकूल नभएको बताए । दिपायल पिपल्लाका स्थानीयवासी सर्वजित देउवाका अनुसार जिल्ला प्रशासन कार्यालयले शक्तिपीठमा सामूहिक बली नचढाउन आग्रह गरेर पनि खासै पालना भएको छैन ।


ग्राहक बढेपछि खाना खाने फुर्सद पनि नपाइएको उग्रतारा फेन्सी हाउसका मेखराज पाण्डेयले बताए । पिपल्लाका व्यापारीका अनुसार यहाँका एकजना व्यापारीले सामान्यतया दिनमा कम्तिमा पनि रु ४० देखि ५० हजार भन्दामाथिको सर–सामान बिक्री गर्ने गरेका छन् । रासस

images
प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - ०७:२७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology