काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ सय ४१ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ५ भने डिस्चार्ज भएका छन् । त्यसैगरी १५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । जसमध्ये एक लाख १५ हजार ६७५ डिस्चार्ज भएका छन् भने ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्ला दिनमा देशका ठूला सहरमा संक्रमण बढ्दै गएको छ । अहिले क्वारेन्टाइनमा २९ सय ६९ जना रहेका छन् ।
२४ घण्टामा हजार ६४ पुरुष र ६७७ महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा हजार ५७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा २५०, प्रदेश २ मा ६६, गण्डकी प्रदेशमा २१३, लुम्बिनीमा १४५, कर्णालीमा ७ र सुदूरपश्चिममा तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।