Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भारतमा तीन महिना यताकै सबैभन्दा थोरै सङ्क्रमित

भारतमा तीन महिना यताकै सबैभन्दा थोरै सङ्क्रमित

दैनिकी न्यूज

११, कार्तिक २०७७
भारतमा तीन महिना यताकै सबैभन्दा थोरै सङ्क्रमित
images

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा पहिलोपटक मङ्गलबार ४० हजारभन्दा थोरै सङ्क्रमित भेटिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना सङ्क्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोनाभाइरसबाट मुक्त भएकाको अनुपात ९०।६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये १।५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि घटेर सात लाखभन्दा कम भएको छ । अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८५७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा केही हप्ता अगाडिसम्म कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ । पीटीआई/रासस

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - १३:४२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology