Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बजार भाउभन्दा बढी मूल्य परेपछि चामल विक्री गर्न समस्या

बजार भाउभन्दा बढी मूल्य परेपछि चामल विक्री गर्न समस्या

दैनिकी न्यूज

१४, कार्तिक २०७७
बजार भाउभन्दा बढी मूल्य परेपछि चामल विक्री गर्न समस्या
images

धनगडी । बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल विक्री गर्न समस्या हुनेगरेको छ ।

खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने गरेपछि विक्री हुन नसकी खपत हुन नसकेको हो । कम्पनीको प्रादेशिक कार्यालय धनगढी ९साविक नेपाल खाद्य संस्थान० अन्तर्गतका शाखा कार्यालयमा आपूर्ति हुने गरेको चामलको खपत हुन नसकेपनि तोकिएको कोटा अनुसारको चामल वर्षेनी आपूर्ति गर्ने गरिएको छ ।

विक्री मूल्य बढी हुँदा पछिल्ला वर्षमा कम्पनीको चामलको माग घट्दै गएको बताइएको छ । कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल श्रेष्ठले बढी मूल्य निर्धारण हुँदा कम्पनीले आपूर्ति गर्ने गरेको चामल त्यति खपत नभइरहेको बताए ।

‘बजारमा सस्तोमा चामल पाउँदा कम्पनीको चामल विक्री गर्नै मुश्किल भयो’, उनले भने, ‘सरकारले ढुवानीमा मात्र नभई चामल विक्रीमा समेत अनुदानको व्यवस्था गर्न सकेमा बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सकिने भई कम्पनीको चामलबाट जनताले पनि राहत पाउन सक्नेछन् ।’

उत्पादन लागत मूल्यका आधारमा सरकारले यो चामलको विक्री मूल्य निर्धारण गर्ने गरेको छ । कार्यालयको तथ्याङकअनुसार आपूर्ति गरिएको चामलमध्ये बाजुरास्थित शाखा कार्यालयमा ५७४ क्वीन्टल, बझाङ शाखामा १४२ क्वीन्टल, अछामको मंगलसेन शाखामा ४११ क्वीन्टल, दार्चुलाको खण्डेश्वरीमा झण्डै १० क्वीन्टल चामल विक्री हुन नसकेर मौज्दात रहेको छ ।

चालू वर्षमा खण्डेश्वरीमा थप ३८० क्वीन्टल चामल आपूर्ति गरिएकोमा यो मध्ये ५० क्वीन्टल विक्री हुन सकेको छ । बझाङ सदरमुकाममा गएको चार महीनामा ३० क्वीन्टल चामल विक्री भएको छ । अछाममा गत वर्षको ५७९ क्वीन्टल मौज्दात रहेकोमा यो वर्ष थप ४४३ क्वीन्टल आपूर्ति गरिएको छ । यो मध्ये ६१२ क्वीन्टल मात्र विक्री भएको छ ।

कम्पनीको चामल बजार मूल्यभन्दा महङ्गो प्रतिकिलो रू।४८ मा विक्री मूल्य निर्धारण हुँदा खपत हुन नसक्ने समस्या देखिएको कम्पनीका बझाङ शाखा कार्यालयका प्रमुख ईश्वरी पाण्डेयले बताए ।

‘स्थानीय बजारमा प्रतिकिलो रू। ३८ देखि ४० मा चामल पाउँछ’, उनले भने, ‘स्थानीय बजार भाउभन्दा सस्तो मूल्यमा हामीले चामल दिन सकेमा मात्र जनताले राहत पाएको ठहरिन्छ ।’धान खरीद गरेर भण्डारण गर्न चाहिने भौतिक संरचनाको अभावमा खरीद हुने धान पनि बिग्रिने जोखिम पनि कम्पनीले व्यहोर्दै आएको छ ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरीद हुने धान कुटेर चामल उत्पादन गर्दा यसको उत्पादन लागत बढेर प्रतिकिलो चामल रू। ४६ देखि ४७ सम्म पर्ने गरेको कम्पनीका अर्का कर्मचारी अविनासकुमार यादव बताउँछन् ।

चालू वर्षमा सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य रू।२ हजार ७३५ निर्धारण गरेकोमा धानको व्यापार गर्ने व्यापारीले हाल किसानबाट प्रतिक्वीन्टल रू।२ हजारमा खरीद गरिरहेका छन् । चालू वर्षमा वर्षाका कारण सडक ठाउँ ठाउँमा भत्किएर यातायात आवागमन अवरुद्ध हुँदा बाजुरामा चामल आपूर्ति गर्न सकिएको छैन ।

पाँच वर्ष अघिको भूकम्पपछि बङ्गलादेशवाट भित्रिएको बङ्गलादेशी चामल विक्री गर्न झण्डै तीन वर्षको समय लागेको थियो । खानमा स्वादिलो नभएको भन्ने जनगुनासो सँगसँगै यो चामलको मूल्य बजार मूल्यभन्दा बढी तोकिएपछि खपत बढाउन पटक पटक विक्री मूल्य घटाउनु परेको थियो ।

कम्पनीको धनगढीस्थित गोदाममा अहिले मोटा चामल २४ हजार ३५० क्वीन्टल, जिरा स्टिम चामल ७९६ क्वीन्टल, सोना मन्सुली चामल ४७३ क्वीन्टल र गहुँ ४५४ क्वीन्टल मौज्दात रहेको छ । कार्यालयले गएको दुई महीनामा २० हजार क्वीन्टल धान खरीद गरेको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १५:४३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology