Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भत्ता बुझ्न बिहानैदेखि बैङ्कको ढोका कुर्दै ज्येष्ठ नागरिक

भत्ता बुझ्न बिहानैदेखि बैङ्कको ढोका कुर्दै ज्येष्ठ नागरिक

दैनिकी न्यूज

१९, कार्तिक २०७७
भत्ता बुझ्न बिहानैदेखि बैङ्कको ढोका कुर्दै ज्येष्ठ नागरिक
images

कावासोती । छियासी वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बस्नुभएको छ । बिहान चार बजेदेखि उहाँ सिँढीमा बस्नुभएको हो । उहाँ बसेको घरको दोश्रो तलामा मेगा बैङ्कको कार्यालय छ । बिहानीको समयमा चिसोको आभास हुन थालेको छ । तर उहाँलाई कुनै प्रवाह छैन् । सिमेन्टको भूईमा बसेर उहाँ बैंक खुल्ने प्रतिक्षामा रहनुभएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न उहाँ बिहानै चार बजे बैङ्क परिसरमा आउनु भएको हो । कावासोती नगरपालिका–१ कोइलापानीदेखि झण्डै ७ किलोमिटर पैदल हिडेर आउनु भएको उहाँलाई बैङ्क चाँडै खुलेर भत्ता बुझ्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

उहाँजस्तै ६२ वर्षीया फुलकुमारी सुनारसमेत बिहान चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा हुनुहुन्छ । “दश बजे आए पालो आउँदैन, पैसा पनि पाइँदैन, त्यसैले बिहानै आएकी हुँ” उहाँले भन्नुभयो । उहाँसँगै अन्य ज्येष्ठ नागरिक समेत बिहानै चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा रहनुभएको छ । कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैङ्कले दैनिक ३० जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ ।

एक दिनमा ३० जनाको मात्रै पालो आउने भएपछि यहाँका ज्येष्ठ नागरिकहरु बिहानैदेखि कुपनका लागि बैङ्कको ढोकामा लाइन बस्ने गरेका छन् । बिहान ६ बजे तीस वटा कुपन बितरण गरिसकेको बैङ्कका सूरक्षाकर्मीले बताउनुभयो । अब आउनेले कुपन नपाउने उहाँको भनाइ छ । तर कुपन नपाएपनि भत्ताको पैसा निकाल्न पाइन्छ कि भनेर केही ज्येष्ठ नागरिक लाइनमै बसेका देखिन्छ ।

कावासोती नगरपालिका–१ का वडाध्यक्ष नारायण पन्तले बैङ्कले जिम्मेवारीपूर्वक कार्य नगर्दा समस्या भएको बताउनुभयो । “ बैङ्कले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने थियो, तर कुनै प्रतिक्रिया दिदैनन्”, उहाँले भन्नुभयो । कावासोती–१ मा करिब ६ जनाले सामाजिक सुरक्षा भत्ता पाउने सूचिमा छन् । बैङ्कले उपयुक्त व्यवस्थापन नगरिदिँदा भीडमा ज्येष्ठ नागरिक थप सङ्क्रमण जोखिममा रहेको उहाँको भनाइ छ । सामाजिक सूरक्षा भत्ता बितरणको व्यवस्था बैङ्कबाट भएकाले कोरोना सङ्क्रमण जोखिमको यो समयमा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने वडाध्यक्ष पन्तले बताउनुभयो ।

कावासोती नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नगरपालिकाले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दशैंअघि नै बैङ्कमा पठाइसकेको बताउनुभयो । अशक्त र ज्येष्ठ नागरिकको संरक्षक कायम गरी सिफारिसका आधारमा लिन सक्ने बनाउँदा समस्या नआउने उहाँको भनाइ छ । बैङ्कहरुले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव उहाँको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०५:५९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology