काठमाडौं । सरकारले कोरोना भाइरसबाट सङक्रमित कर्मचारीलाई छुट्टै बिदा दिने भएको छ । कर्मचारीलाई छुट्टै विदा दिने विषयको प्रस्ताव मन्त्रिपरिषद् लगिएको एक मन्त्रीले बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्रमण पुष्टि भए, छुट्टै बिदा दिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी उक्त विदा दिने प्रस्ताव मन्त्रिपरिषद् मा पठाइएको स्वीकार गरे । कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै बिदा दिने हाल कानुनी व्यवस्था नरहेकाले बिदा दिनुपर्छ भनेर मन्त्रिपरिषद् मा प्रस्ताव लगिएको र उक्त प्रस्ताव छलफलमा रहेको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिन बिदा, अर्को पोजेटिभ देखिएपछि हस्पिटलमा बस्नुपर्ने अवस्थाको कर्मचारीलाई भने हस्पिटल बसेभरीको बिदा दिनु पर्ने प्रस्ताव मन्त्रालयले गरेको छ । हाल नेपालमा तीन तहमा गरी एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार ५०० र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी छ ।