काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकी मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा।३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले बुधबार साँझ ठक्कर दिँदा बा।५ ख ८८६५ नम्बरको ट्रकमा सवार नुवाकोट सुन्दरदेवी बस्ने २४ वर्षीय रोशन तामाङ सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कलंकीस्थित सहिद अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, राप्तीसोनारी गाउँपालिका-२ मुगुवा खोलास्थित सडकमा बिग्रेर रोकी राखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका चालक समेत २ जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनीहरूको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, परोहा नगरपालिका–६ हुलाकी सडकमा ना ८ ख ४२२० नम्बरको मिनी ट्रकको हुटमा बुधबार दिउँसो बिजुलीको तार अल्झिन गई ४ वटा बिजुलीको पोल भाचिँदा पैदलयात्री सोही ठाउँ बसन्पट्टी बस्ने ७० वर्षीय जठु हजरा पासवानको मृत्यु भएको छ । पोलले थिचिएर गम्भीर घाइते भएका उनलाई उपचारको लागि वीरगंजतर्फ लैजाँदै क्रममा बाटैमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ चुरिया नजिक सडकमा बुधबार दिउँसो बा ४२ प ८४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २० फिट तल खस्न गई दुर्घटना हुँदा चालक बारा परवानिपुर बस्ने २६ वर्षीय प्रतिक क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ ।
सिरहा, कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित सडकमा स १ त ५७९१ नम्बरको ट्याक्टरले बुधबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने रामाषिस साहको छोरा ३ वर्षीय आर्यन कुमार साहको मृत्यु भएको छ । बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा घाइते भएका उनको फुल कुमारी मेमोरियल अस्पताल कर्जन्हातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।