Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सरकार छलफल गर्दै, विज्ञ भन्छन् विगतको समीक्षा गरौं, गरे कडै गरौं

सरकार छलफल गर्दै, विज्ञ भन्छन् विगतको समीक्षा गरौं, गरे कडै गरौं

दैनिकी न्यूज

२८, कार्तिक २०७७
सरकार छलफल गर्दै, विज्ञ भन्छन् विगतको समीक्षा गरौं, गरे कडै गरौं
images

काठमाडौं ।अहिलेको सङक्रमणको चेन तोडन उपत्यका नगरपालिका फोरमका पदाधिकारीले हिजो कोरोना नियन्त्रणका लागि तिहार र छठपछि कडा लकडाउन गर्नुपर्ने सुझाव दिएपछि आम मानिसमा फेरि लकडाउन हुने त्रास फैलिएको छ ।

आम मानिसलाई कस्तो लकडाउन हुने भन्ने पनि जिज्ञासा छ तर जनस्वास्थ्यविद्ले भने विगतको जस्तो लकडाउनको कुनै अर्थ नभएको बताएका छन् । उनीहरुको विचारमा लकडाउन गर्ने नै भए कडा लकडाउन र सोही अनुरुप संक्रमितको व्यापक खोजी र उपचार गर्नुपर्ने सुझाव छ ।

यता फोरमले दिएको लकडाउन गर्नुपर्ने रायको विषयमा छलफल भइरहेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ । सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले नगरपालिका फोरमले दिएको रायलाई लकडाउन गर्ने वा नगर्ने विषयमा थप छलफलपछि दुईचार दिनमा निर्णय आउने बताउनुभयो ।

तर अहिले लकडाउन हुन्छ भन्ने कुरा निर्णयमा नपुगेकोले लकडाउन हुन्छ भन्ने निश्चित नभएको उहाँले बताउनुभयो । यता ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन काठमार्डौं उपत्यकाभित्र कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकोले कडा लकडाउन आवश्यक भएको बताउनुहुन्छ ।

लकडाउन भनेर यसअघि गरे जस्तो लकडाउनले नहुने भन्दै प्रभावकारी हुने गरी लकडाउन गर्ने आवश्यक रहेको मेयर महर्जन बताउनुहुन्छ । अहिले उपत्यकामा संक्रमण टोल–टोल र समुदायमा फैलिसकेकोले कडाखालको लकडाउन गर्नुपर्ने आफूले हिजोको सिसिएमसी बैठकमा कुरा राखेको बताउनुभयो ।

लकडाउन कडा गर्ने र समुदायमा केसको आधारमा ’कन्ट्रयाक टेसिङ’ प्रभावकारी रुपमा गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । मास्क, सेनिटाइजर, लगायत स्वास्थ्य मापदण्डको पालना नगर्ने मानिसलाई आर्थिक जरिवानादेखि प्रक्राउसम्मको कारबाही अगाडि बढाउन सकियो भने प्रभावकारी हुने उहाँ बताउनुहुन्छ ।

तर यस्तै अवस्थामा अगाडि जान दिए अवस्था डरलाग्दो हुनसक्ने मेयर महर्जन बताउनुहुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका डा। शेरबहादुर पुन विगतको जस्तो लकडाउन निषेधाज्ञा गर्नुको कुनै औचित्य नभएको बताउनुुहुन्छ ।

लकडाउन गर्ने जो हो भने विगतका कमी कमजोरीको समीक्षा गरेर नयाँ तरिकाले अगाडि बढन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

विश्वमा चीनबाहेक अरु देश लकडाउन गरेर सफल हुन नसकेको डा। पुनको भनाई छ । भरसक लकडाउन नगरौं गर्नुपर्ने आवश्यकता देखिए कडाईका साथ गर्नुपर्नेमा उहाँको जोड छ । आम मानिसले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना किन गरेका छैनन् त्यसको बारेमा पनि समीक्षा गर्नुपर्ने वेला आएको उहाँ बताउनुहुन्छ ।

समाजमा पढेलेखेका मानिसले नै स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएकोले सरकारदेखि सवै क्षेत्रबाट कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्ने जनचेतनाको महाअभियान नै चलाउन आवश्यक रहेको डा। पुन बताउनुहुन्छ्र । लकडाउन गरे पनि प्रहरी सबै मानिस भएको ठाउँमा जान सम्भव हुँदैन तर मानिसको चेतना परिवर्तन गर्न सकियो भने भविष्यमा आउन सक्ने यस्ता खालका रोगबाट बच्न पनि सहयोग मिल्ने उहाँ बताउनुहुन्छ ।

यो खबर गोरखापत्र दैनिकमा मुकुन्द गैरेले लेखेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०६:४८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology