Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर दुईदिन खुल्ने

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर दुईदिन खुल्ने

दैनिकी न्यूज

३०, कार्तिक २०७७
रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर दुईदिन खुल्ने
images

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर मंसिर १ र २ गते खुला गरिने भएको छ । यसवर्षको भाइटीका भोलि परेको छ । ०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पुऱ्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निनिर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर भाइटीकाको अवसर पारेर मंसिर १ र २ गते गरी दुई दिन खुला गरिने बताए । यस वर्ष मंसिरमा भाइटीका परेको छ । प्रमुख शाक्यले १ गते भाइटीका मान्नेहरूलाई १ गते र २ गते मान्नेहरूका लागि २ गते दर्शनको व्यवस्था गरिएको बताए । भाइटीकाकै लागि महानगरपालिकाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलिमिली बनाएको छ । अहिले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले कडा सुरक्षा गरिएको उनले बताए । स्वयंसेवक परिचालन गरी दर्शन गर्न आउनेहरूको ज्वरो नाप्ने र मास्कसमेत वितरण गर्ने उनले बताए । मेयर शाक्यले टीका लगाउनेबाहेक घुम्न आउनेहरूलाई नआउन पनि आग्रह गरेका छन् । भाइटीकाका लागि मात्रै १ र २ गते मन्दिर खुला हुने भएकाले भाइटीका नहुनेहरूले स्वास्थ्य जोखिमलाई ध्यानमा राख्न नआउन उनले आग्रह गरे । महानगरपालिकाले छिट्टै सबैका लागि रानीपोखरी खुला गर्ने तयारी गरेको उल्लेख गर्दै मेयर शाक्यले संक्रमणको जोखिम कायम रहँदासम्म सतर्कता अपनाउन आग्रह गरे । मन्दिर पुरानै शैली (ग्रन्थकुट शिखर) मा पुनर्निर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुऱ्याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन् । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाका लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैवेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - २१:०९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology