Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

समुदायमा कोरोना संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण

समुदायमा कोरोना संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण

दैनिकी न्यूज

१६, मंसिर २०७७
समुदायमा कोरोना संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण
images

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थाले पनि न्यून सहभागिता देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं महानगरभित्र तीन हजार जनाको एन्टिजेन टेस्ट गर्न प्राविधिकलाई समुदायमा पठाए पनि पहिलो दिन परीक्षण गर्न आउनेको संख्या न्यून देखिएको हो ।

ईडीसीडीको टोली सोमबार कोरोनाको हटस्पट मानिएको काठमाडौंका विशालनगर, धुम्बाराही, चाबहिल, मित्रनगर, बत्तीसपुतली, गुहेश्वरी, पशुपति क्षेत्रमा परीक्षण गर्न खटिएका थिए । एउटा वडामा दुईवटा बुथ राखेर परीक्षण गरिएको हो । एउटा वडाबाट कम्तीमा ५ सय जनासहित १५ सय जनाको परीक्षण गर्ने योजना भए पनि ७ सय २० जनाको मात्रै परीक्षण भएको छ । तीमध्ये ४३ जनामा पोजिटिभ देखिएको छ । ‘सित्तैमा परीक्षण गर्ने हो भन्दा पनि आएनन्,’ फिल्डमा खटिएका एक प्राविधिकले भने ।

काठमाडौं महानगरपालिकाको वडा ४ मा ५ सय जनाको परीक्षण गर्ने भनिएकामा २ सय २० जनाको एन्टिजेन परीक्षण भएको छ । ७ नम्बर वडामा २ सय ४४ र ९ नम्बर वडामा २ सय ५६ जनाको मात्रै परीक्षण भएको छ । ‘हामीले उपभोक्ता समितिहरू, क्लबहरू र संक्रमितको क्लोज कन्ट्याक्टमा भएकालाई पनि फोन गरेर परीक्षण गर्न बोलाएका थियौं,’ काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष मोहन विष्टले भने, ‘कोरोना भनेको केही होइन, पोजिटिभ देखियो भने १४ दिन आइसोलेसनमा बस्नुपर्छ भन्ने डरले परीक्षण गर्न आएनन् ।’

अझै पनि परीक्षण गर्न अप्ठ्यारो मानेको पाइएको उनले बताए । ‘हामीले तरकारी व्यवसायी तथा बस र ट्याक्सी चालकलाई पनि परीक्षण गर्न अनुरोध गरेका थियौं, आउनुभएन,’ उनले भने । जति परीक्षण भयो, ती सबै भीडभाडमा खटिनेको परीक्षण भएको उनले बताए । पछिल्लो समय सर्वसाधारणमा लक्षण देखिए पनि परीक्षण गराउनै छाडेका छन् । त्यत्तिकै निको हुने भन्दै परीक्षण गराउन छाडेका हुन् ।

यी तीन वडामा गरिएको एन्टिजेन परीक्षणको नतिजाअनुसार काठमाडौंमा कोरोना संक्रमित हुनेको दर ५ दशमलव ९७ प्रतिशत देखिन्छ । बुधबार काठमाडौंकै बानेश्वर, महाराजगन्ज, पुरानो बानेश्वर, शंखमूल, कलंकी, बालाजु, असन, कोटेश्वर क्षेत्रमा पनि यो परीक्षण गरिने पाण्डेले बताए । दुई दिनमा ३ हजार जनाको एन्टिजेन परीक्षण गर्न लागिएको ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डेले बताए । ‘समुदायमा कोरोना कुन अवस्थामा छ भन्ने पत्ता लगाउन एन्टिजेन परीक्षण गरिएको हो,’ उनले भने ।

एन्टिजेन परीक्षण सरकारी तहबाट पहिलो पटक गर्न लागिएको हो, निजी अस्पतालहरूले १ हजारदेखि ३ हजार ५ सयसम्म शुल्क लिएर यो परीक्षण गरिरहेका छन् । एन्टिजेन परीक्षण पनि पीसीआरजस्तै स्वाब संकलन गरेर गरिन्छ । पीसीआरमा स्वाब संकलन गरेपछि ल्याबमा परीक्षण गर्नुपर्छ र नतिजा आउन आठ घण्टाभन्दा बढी समय लाग्छ ।

एन्टिजेन परीक्षणमा आधा घण्टामै रिपोर्ट थाहा पाइन्छ । पोजिटिभ देखिएमा त्यसको विश्वसनीयता परीक्षण गर्न पीसीआरसमेत गरिन्छ । यसबाट समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । ‘लक्षण भएको तर एन्टिजेनमा नेगेटिभ देखियो भने पनि उनीहरूको पीसीआर गर्न नमुना लिने गरेका छौं,’ फिल्डमा खटिएका एक प्राविधिकले भने ।

ईडीसीडीका निर्देशक डा। पाण्डेले तीन हजार जनाको एन्टिजेन परीक्षण गरेपछि उपत्यकाको अवस्था के हो पत्ता लाग्ने बताए । पीसीआर गर्दा पनि उपत्यकामा पछिल्लो समय संक्रमितको संख्या घटेको आँकडा छ । एक सातायता संक्रमित हुनेको दर २० प्रतिशतभन्दा न्यून छ । ‘नेपालमा संक्रमित घटेको देखिन्छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठको टोली काठमाडौं उपत्यकाका स्थानीय तहका वडा अध्यक्षहरूसँग छलफल गर्दा परीक्षण नभएको, शुल्क लिएर मात्रै परीक्षण गर्दा कोरोनाले समुदाय स्तरमा असर गरेको जानकारी दिएपछि एन्टिजेन परीक्षण सुरु भएको हो ।

एन्टिजेन परीक्षण गर्ने व्यक्तिहरू वडा कार्यालयले भेला गराउने गरेको छ । परीक्षण गर्न आवश्यक पर्ने कीट र अन्य उपकरण लिएर ईडीसीडीका प्राविधिकहरू खटिने गरेका छन् । संक्रमित देखिएमा तिनको व्यवस्थापन गर्न टोली पनि फिल्डमै खटिएका हुन्छन् । फिल्डमा खटिँदा अस्पताल भर्ना गर्नुपर्ने संक्रमित देखिए तत्काल व्यवस्थापन हुने उनले बताए । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - ०७:३३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology