Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनाकै प्रगति न्यून

प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनाकै प्रगति न्यून

दैनिकी न्यूज

१९, मंसिर २०७७
प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनाकै प्रगति न्यून
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटबल–नारायणगढ सडक विस्तार आयोजनाको निकै तामझामसहित शिलान्यास गरे ।

दुई लेनको सडकलाई चार लेन बनाउने उक्त आयोजनाको शिलान्यास गरिएको पनि २० महिना बितिसक्यो । तर भौतिक प्रगति भने २ प्रतिशतमै सीमित देखिन्छ । प्रधानमन्त्रीजस्तो शीर्ष नेताले शिलान्यास गरेर अपेक्षाकृत प्रगति नभएको यो एउटा मात्र आयोजना होइन, अरू आधा दर्जनजति आयोजनाको भौतिक प्रगति यस्तै निराशाजनक अवस्थामा छन् ।

बुटबल–नारायणगढ सडक विस्तार आयोजनाको ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा पनि निर्माण कार्यले भने अहिलेसम्म कुनै गति लिन सकेको छैन । ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी आयोजना निर्देशनालय एडिबी र चिनियाँ ठेकेदार कम्पनीबीच २०७५ पुसमा करिब १७ अर्बको लागतमा १ सय १५ किलोमिटर सडक विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो । तर समयमै साइट क्लियर गर्न नसक्दा आयोजनाको ठेक्का सम्झौताको लगभग दुई वर्ष बितिसक्दा समेत आयोजनाको भौतिक प्रगति २ प्रतिशतमै रोकिन पुगेको हो ।

आयोजना निर्देशनालय ९एडिबी० का निर्देशक दीपक श्रेष्ठले आयोजनाको भौतिक प्रगति २ प्रतिशत मात्रै भएको बताए । ‘ठेकेदार मोबिलाइजेसन भए पनि रूख कटानको विवाद, साइट क्लिरेन्स नहुनु, कोभिड–१९ लगायत विविध कारणले अपेक्षित ढंगले सडक निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन,’ उनले भने । निर्देशक श्रेष्ठले साइट क्लियर नहुँदै आयोजना निर्माण सुरु गरेकाले पनि अपेक्षित गतिमा उपलब्धि हात पार्न नसकेको बताए । ‘नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार कोभिड–१९ का कारण लामो समय फर्किन पाएनन्,’ उनले भने, ‘अहिले बिस्तारै चिनियाँ कामदार आउन थालेसँगै निर्माण कार्य सुरु भएको छ ।’ अहिले नारायणगढदेखि बुटबल र बुटवलदेखि दाउन्ने जाने सडक लथालिंग अवस्थामा छन् । पहिला करिब एक घन्टामै पार हुने सो सडकखण्डमा अहिले चार घण्टासम्म लाग्ने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार तथा विकास विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले शिलान्यास गरेका कतिपय आयोजना मुआब्जा विवाद र वन विभागलगायतका कारण निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे । निर्देशक श्रेष्ठले पछिल्लो समय ठेकेदार कम्पनीले काम सुरु गरेको दाबी गरे ।

यो आयोजना एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गर्न लागिएको हो । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटबल थप ५० किलोमिटर गरेर एक सय ११५ किलोमिटर सडक चार लेनमा विस्तार गर्नलागिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटबल–नारायणगढ सडकखण्ड मात्रै होइन, प्रधानमन्त्री ओलीले उच्च प्रथामिकतामा राख्दै शिलान्यास गरेका अधिकांश आयोजनाको भौतिक प्रगति अत्यन्तै न्यून देखिएको छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - ०८:३१:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology