नेकपा निर्णायक भनिएको सचिवालयको बैठक आज बस्दै छ। कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको राजनीति प्रस्ताव र त्यसको जवाफमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले पेश गरेको ३८ पृष्ठको प्रतिवेदनमाथी छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि उनलाई उपस्थित गराउन तीन दिनको समय दिएर बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकअघि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् । कतिपयले राष्ट्रपतिको यो सक्रियताको आलोचना गर्ने गरेका छन् । आजको बैठकमा ओली अनुपस्थित भए दुबै प्रतिवेदनलाइ बहुमतीय प्रक्रियामा अगाडि बडाउने तयारी छ । यदि सो प्रतिवेदन बहुमतीय प्रक्रियामा स्थायी र केन्द्रिय कमिटीमा पुगे नेकपा बिभाजन हुने ओली पक्षकाले चेतावनी दिएका छन् ।