काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोगको नियम लागु गरिरहे पनि त्यसको उल्लंघन आफैं गरिरहेको पाइएको छ ।
प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२० को पालनामा बेवास्ता गर्दै भाषण, उद्घाटन, जमघट, पार्टी, यात्रा, घुमफिर, बिहेलगायत कार्यक्रममा सहभागी हुने गरेका छन्। मंसिर ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ पुगेर ‘मास’ लाई सम्बोधन गरे । पर्यटनमन्त्री योगेश भट्टराई, मुख्यमन्त्री शेरधन राई, नेता सुवास नेम्बाङ पनि ओलीसँगै ताप्लेजुङ पुगेका थिए । ताप्लेजुङको घुन्सामा बनेको स्वास्थ्य चौकी उद्घाटन गर्न पुगेका ओलीलाई ठूलै भिडले स्वागत गर्यो ।
त्यसबखत ओलीले कोरोना नियन्त्रणमा सरकारले बनाएका नियमकानुन सबै बिर्सिए । त्यस्तै मंगलबार कीर्तिपुरस्थित ज्येष्ठ नागरिक भवन शिलान्यास कार्यक्रममा पनि प्रधानमन्त्री ओली सरिक हुँदा उसैगरी भिडभाड बढ्यो । कोरोना संक्रमणलाई पर्वाहै नगरी ओलीको जोसिलो भाषणले भिडलाई ततायो । कोरोना संक्रमण बढिरहेका बेला ओलीले कोरोनाभन्दा बढी भाषण राजनीतिक विषयमा गरे ।
यसरी कोरोना महामारीलाई नियन्त्रण गर्न सर्वसाधारणलाई भिडभाडजन्य गतिविधि नगर्न लिखित र मौखिक निर्देशन दिँदै आएको सरकार नै संक्रमणको जोखिम बढाउने गतिविधिमा सरिक भएको छ ।
सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली नै भिडभाडजन्य गतिविधि र मास भेलामा सहभागी हुँदै आएका छन्। प्रधानमन्त्रीले नै कोरोना संक्रमणलाई वास्ता नगरेपछि कोभिड नियन्त्रणका लागि सरकारले बनाएको मापदण्ड फितलो बनेको छ । यसबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बोल्न अस्वीकार गरे । ‘यसबारे मैले बोल्दिनँ, प्रधानमन्त्रीज्यू पुगेको ठाउँमा भिडभाड छैन,’ उनले भने, ‘अन्य कुरा अरूलाई नै सोध्नुस् ।’ त्यसो त सरकारको विरोध गर्नेलाई भने कोरोनाको बहाना बनाउँदै ओली नेतृत्वको सरकारले कडाइ गर्दै आएको छ ।
१० दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शन रोक्न भन्दै लिखित निर्देशन दिएको थियो ।
सामान्य होइन संक्रमण दर
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन । परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ । दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि १२ सयका बीचमा देखिएको छ ।
दैनिक २० जनाभन्दा बढीको मृत्यु भइरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आम नागरिक नै कोरोना नियन्त्रणमा जिम्मेवार नबनेको बताए । ‘सरकारले त आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ,’ उनले भने, ‘आम सर्वसाधारणले पनि आफ्नो दायित्व बुझ्नुपर्यो नि ।’
कोरोना भयावह बनिरहेका बेला सरकारकै खेलाचीका कारण संक्रमण झन् बढेको विज्ञहरूको भनाइ छ । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले कोरोना दर बढिरहेका बेला सरकारले पनि आफ्नो ठाउँ छाडिसकेको बताए। उनले परीक्षणका दायरा घटाएर संक्रमण दर कम देखाए पनि भित्रभित्रै संक्रमण बढिरहेको जानकारी दिए ।
सरकारले सुरुदेखि नै हेलचक्र्याइँ गर्दै आएको छ, अहिले त झन् कोरोना छ वा छैन भन्ने नै बिर्सिएझैं देखिन्छ,’ उनले भने, ‘न त संक्रमण रोक्न सरकार जिम्मेवार छ न त आम नागरिक नै ।’ उनले कोरोनालाई खेलाची ठान्दा चिसोमा संक्रमण दर भयावह हुने देखिएको जानकारी दिए ।
मन्त्रीका छोराको बिहेमा भिड
कोरोना नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरा र गृहमन्त्री रामबहादुर थापाका छोराले गत सोमबार तामझामका साथ विवाह गरे । कोरोना नियन्त्रणका विषयमा प्रमुख जिम्मेवारी सम्हालेका यी दुई मन्त्रीले छोराको बिहेमा जन्ती र पाहुनाको भिड नै जम्मा गरे । प्रहरीले सुटुक्क साथ दिएपछि पार्टी र बिहे भेलाको हल्लै भएन । गृहमन्त्री थापाका छोराले पोखरामा बिहेको पार्टी दिए, पुल्चोकस्थित मन्त्रीनिवासमै पनि भिडभाड बढाएका थिए । त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्तका छोराको बिहेमा पनि मुख्य नेताहरूलाई डाकेर काठमाडौंमै पार्टी आयोजना गरिएको थियो ।
उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।