Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कोरोना बीमामा ५० ओटा आवेदन दाबी पाउन अयोग्य

कोरोना बीमामा ५० ओटा आवेदन दाबी पाउन अयोग्य

दैनिकी न्यूज

३, पौष २०७७
कोरोना बीमामा ५० ओटा आवेदन दाबी पाउन अयोग्य
images

काठमाडौं । केही समयअघि कोरोना बीमामा दाबी भुक्तानी ढिलाइ भयो भनेर ग्राहकस्तरबाट पनि बीमा कम्पनीहरूको नकारात्मक टिकाटिप्पणी भयो । अहिले बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई चुस्तरूपमा अगाडि बढाएका छन् । तर, अहिले केही ग्राहकले पनि कोरोना बीमा प्रयोग गरेर फाइदा लिन खोजेको पाइएको छ ।

बीमा समितिको बिहीवारसम्मको तथ्यांकअनुसार कोरोना बीमामा परेको कुल आवेदनमध्ये ५० ओटा ‘नो क्लेम’ अर्थात् दाबीका लागि अयोग्य भएको पाइएको छ । बीमितबाट दोहोरो रूपमा आएका ५० ओटा आवेदन दाबीका लागि योग्य नभएको हो । बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले दोहोरो आएका आवेदन ‘नो क्लेम’मा राखिएको बताए । यद्यपि, दोहोरो मागदाबी गर्ने बीमितले भने एउटा दाबी भने पाउने उनले जानकारी दिए ।

बीमाको सिद्धान्तअनुसार एउटै बीमामा दोहोरो दाबी भुक्तानी गर्न मिल्दैन । तर, कतिपय अवस्थामा एउटै व्यक्तिको दुईभन्दा बढी बीमा कम्पनीबाट बीमा भएको छ । त्यस्तो व्यक्ति कोरोना संक्रमित हुँदा दुई ठाउँबाटै दाबी पेश गरेका हुन् । तर, बीमितले त्यसरी दोहोरो रूपमा मागदाबी गर्न नहुने बीमा कम्पनीका साथै समितिको भनाइ छ । समितिको उक्त तथ्यांकमा नक्कली कागजपत्र भएका कारण पनि नो क्लेममा राखिएको उल्लेख छ । कोरोना बीमामा प्रतीक्षा अवधिभन्दा अगाडि नै बीमित कोरोना संक्रमित भएमा दाबी पाउँदैनन् । यस्तै, दोहोरो बीमा भएपछि एउटा मात्र भुक्तानी गरिने व्यवस्था छ ।

तथ्यांकअनुसार बिहीवारसम्म २३ हजार ५६ ओटा दाबी आवेदन आएका छन् । तीमध्ये १२ हजार १९३ ओटाको दाबी भुक्तानी भइसकेको छ । रकमका आधारमा हालसम्म रू. १ अर्ब १९ करोड ७ लाख दाबी भुक्तानी भएको समितिले बताएको छ । ५ हजार ६०६ ओटा आवेदन स्वास्थ्य मन्त्रालयमा प्रमाणीकरणका लागि पठाइएको छ । तीमध्ये ३ हजार ५२ ओटा आवेदन स्वीकृति भएर आएका छन् । अन्य आवेदन भने स्वीकृतिका लागि पाइपलाइनमा छन् । यस्तै, १ हजार ११ ओटा आवेदन मन्त्रालयमा स्वीकृतिका लागि पठाउन तयार भएको छ भने ३ हजार ५६६ ओटा आवेदन प्रमाणीकरणको चरणमा छन् । यसका अलावा १ हजार ५७१ ओटा आवेदन कागजपत्र पूरा नभएपछि कम्पनीहरूलाई नै फिर्ता गरिएको छ । बीमा समितिले गत वैशाखदेखि लघुबीमाअन्तर्गत कोरोना बीमा कार्यक्रम शुरुआत गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै कम्पनीलाई तोकिएको मात्रामा बाँडफाँट गरिएको छ ।

यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ । यसमा गत भदौ २९ गतेयता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू। २५ हजार पाउनेछन् । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलको आधारमा रू। ७५ हजारसम्म भुक्तानी पाउँछन् । समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर यस्तो व्यवस्था गरेको थियो । भदौ २९ गतेभन्दा अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांक बराबरको रकम नै भुक्तानी पाउँछन् । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ०७:००:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology