काठमाडौं । जोरबिजोर हटेसँगै शुक्रबार काठमाडौमा सवारीको चाप लकडाउन हुनुभन्दा पहिलेकै अवस्थामा देखिएको छ । कोरोना महामारीको कारण काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर शुक्रबारबाट हटेसँगै सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
जोरबिजोरलाई ट्राफिक प्रहरीले कडाइ गरेसँगै शुक्रबारबाट जोरबिजोर हटाएसँगै चाप ह्वात्तै बढेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
ट्राफिक चाप बढ्न सक्ने भन्दै महाशाखाले आफूसँग भएका जनशक्ति परिचालन गरेसँगै ट्राफिक व्यवस्थापनमा भने खासै समस्या नभएको अधिकारीले बताए । केही दिनदेखि उपत्यकामा सवारीको चाप बढेसँगै आफूसँग रहेका सबै जनशक्ति महाशाखाले परिचालन गरेको एसपी अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकामा अहिले १४ सय जनशक्ति परिचालन भएको छ । सवारीको चाप बढेसँगै दुर्घटनामा समेत बृद्धि हुन सक्ने भएकाले प्रहरीले सर्तकता बढाएको एसपी अधिकारीले भने ।
उनका अनुसार दैनिक २५ सय सवारी साधनहरुलाई ट्राफिकले कारवाही गर्ने गरेको छ । कोरोना महामारीसँगै ट्राफिक प्रहरीलाई कोरोनाको जोखिम बढ्ने भन्दै रोकिएको मापसे चेकजाँच शुक्रबारबाट पुन सुरु गरिएको अधिकारीले भने । काठमाडौं उपत्यकामा नौ महिनादेखि रोकिएको मापसे चेकजाँच शुक्रबारबाट सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै स्थानमा मापसे चेकिङ सुरु गरेको हो । ‘हामीले उपत्यकामा रहेका सबै ट्राफिक युनिटहरुलाई निर्देशन दिएका छौ’ महानगरीय ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले भने । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।