Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चिसो मौसममा कोरोनाको उच्च जोखिममा दमरोगी

चिसो मौसममा कोरोनाको उच्च जोखिममा दमरोगी

दैनिकी न्यूज

१२, पौष २०७७
चिसो मौसममा कोरोनाको उच्च जोखिममा दमरोगी
images

काठमाडौं । मानिसमा कोरोना भाइरस सङ्क्रमण भइसकेपछि सबैभन्दा पहिला फोक्सोमा असर गर्दछ । छातीसम्बन्धी रोग लागिसकेका व्यक्तिलाई कोरोना सङ्क्रमणले झनै जटिल बनाउँछ । कोरोनाका कारण मृत्यु हुनेमा पनि दीर्घरोगीहरू पर्ने भएकाले चिसोमा दम रोगीलाई अझ बढी जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

चिकित्सकका अनुसार पछिल्लो समय दम रोगको समस्याबाट पीडित रहेका मानिस अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । हल्का समस्या आउँदा घरमै बस्ने र जब मानिसलाई धेरै गाह्रो हुन थाल्छ, त्यो बेला मात्र अस्पताल पुग्ने हुँदा बचाउन कठिन हुन्छ । दम रोगीलाई जोगाउन घरमा पनि बढी स्याहार जरुरी हुन्छ ।

चिकित्सककाअनुसार चिसोमा ननिस्कने, चिसो खानेकुरा नखाने र पिउन तथा नुहाउन तातोपानीको प्रयोगले दम रोगीको स्याहारमा सहयोग पुग्छ । कोरोनाको महामारीसँगै वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ ।

वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा। राजु पङ्गेनीले पहिले भेन्टिलेटरमा राखेका ८० प्रतिशत मानिसलाई बचाउन सकिएकोमा पछिल्लो समय ५० देखि ६० प्रतिशतलाई मात्रै बचाउन सकिएको अनुभव सुनाउनुभयो । कोरोनाले गर्दा मानिस अस्पताल नआउने, आइहालेमा पनि धेरै जटिल अवस्थामा मात्र आउने गरेकाले समस्या परेको उनको भनाइ छ ।

योबाहेक प्रदूषणकै कारण नेपालमा दम रोग बढेको छ । उनले अक्सिजन लगाइरहने व्यक्तिले पनि विशेष सावधानी अपनाउनुपर्ने जानकारी दिए । डा। पङ्गेनीका अनुसार प्रदूषणले उपत्यकामा दम रोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । वृद्धवृद्धा, शिशु र बालबालिकालाई अझ बढी जोखिम हुन्छ ।

डा। पङ्गेनीले जाडो मौसममा अस्पतालमा दम रोगका बिरामीको भीड बढ्ने गरेको बताउँछन् । डा। पङ्गेनी सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको तथ्याङ्क दिन्छन् ।

तथ्याङ्कअनुसार विश्वमा २५ करोडभन्दा बढी मानिस दमका रोगी छन् । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गर्दछ । यस्ता रोगीमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक पर्छन् । चार वर्ष अघि गरिएको एक सर्वेक्षणमा नेपालमा नौ लाख ६० हजार मानिस दमका बिरामी रहेको पाइएको छ ।

विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दम खोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन् । नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दम खोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुषको दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ ।

वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा। अशेष ढुङ्गानाले अस्पतालमा दैनिक २० देखि २५ जना बिरामी दमका आउने गरेको जानकारी दिए । उनले नेपालमा दमको समस्या अत्यधिक रहेको भन्दै जाडो मौसममा दम रोगीले विशेष ख्याल गर्नुपर्ने सुझाव दिए । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०७:४१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology