Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बेलायतबाट फर्किएका एक सय ९३ निगरानीमा, पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

बेलायतबाट फर्किएका एक सय ९३ निगरानीमा, पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

दैनिकी न्यूज

१४, पौष २०७७
बेलायतबाट फर्किएका एक सय ९३ निगरानीमा, पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि
images

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिनुभयो । महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताउनुभयो । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो”, उहाँले भन्नुभयो, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”उहाँले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताउनुभयो । उहाँले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पिसिआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिनुभयो ।

महाशाखाका निर्देशक डा पाण्डेले पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ । रासस

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०४:५६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology