Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी अब औपचारिक माध्यमबाट

सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी अब औपचारिक माध्यमबाट

दैनिकी न्यूज

१४, पौष २०७७
सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी अब औपचारिक माध्यमबाट
images

काठमाडौं । चालू आवको प्रथम त्रैमासिक मौद्रिक समीक्षाले लिएको नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले तयारी थालेको छ । यो व्यवस्थाले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा युट्युब, गूगललगायत अन्य सूचनाप्रविधिको माध्यमबाट गरिने विज्ञापन तथा विदेशी संस्थाबाट लिइने साना रकमको अनलाइन कोर्षलगायतको भुक्तानी नेपालबाटै गर्न सकिनेछ ।

मौद्रिक नीतिअनुसार नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत जुनसुकै विदेशी सेवा आयातबापत वाणिज्य बैंकबाट प्रिपेड कार्डमार्फत भुक्तानी हुनेगरी व्यवस्था मिलाउन लागेको छ । यसका लागि बैंकले तयार पारेको प्रस्तावित व्यवस्थामा सुझाव दिन सोमवार सूचना जारी गरिएको छ ।

विभागले सोमवार जारी गरेको प्रस्तावित व्यवस्थाबारे सरोकारवालाहरूसँग पुस मसान्तसम्म सुझाव तथा प्रतिक्रिया माग गरेको छ । पछिल्लो समय नेपालबाट यस्ता माध्यममा विज्ञापन बढ्न थालेको र यसको भुक्तानी अनौपचारिक माध्यमबाट हुने गरेको छ । यसलाई व्यवस्थित गर्न लागिएको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बताएको छ ।

केन्द्रीय बैंकले प्रस्ताव गरेको व्यवस्थाअनुसार विदेशी सेवा प्रयोग गरेबापत अमेरिकी डलर ५ सयसम्मको भुक्तानीका लागि वाणिज्य बैंकहरूले प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । यस्तो सेवा लिएका ग्राहकले १ वर्षमा सोही रकम बराबर मात्र भुक्तानी गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तो कार्ड लिन चाहने व्यक्ति फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ । कार्ड जारी गर्दा सम्बद्ध प्रयोगकर्ताको केवाईसी ९ग्राहक पहिचान० विवरण भर्नुपर्ने छ र सम्बद्ध प्रयोगकर्ताको स्थायी लेखा नम्बर ९प्यान० लिनुपर्ने छ ।

विदेशबाट सेवा खरीद गर्दा नियमअनुसार लाग्ने कर अग्रिम भुक्तानी हुने व्यवस्था छ । यस्तो कार्डको उपयोग एउटाभन्दा बढी बैंकबाट गर्न नपाइने व्यवस्था गर्न लागिएको छ । हाल बैंक तथा वित्तीय संस्थाबाट जारी भएका डेबिट र क्रेडिट कार्ड धारकले नेपालभित्रै बसी नेपालमै उपभोग गर्ने उद्देश्यले वार्षिक २ हजार अमेरिकी डलरसम्म विदेशी सेवा अनलाइनमार्फत खरीद गर्ने व्यवस्था छ । केन्द्रीय बैंकबाट जारी भएका नीतिगत व्यवस्थामा रहेर वाणिज्य बैंकहरूले तेस्रो मुलुकबाट लिएको सेवाको भुक्तानी अमेरिकी डलर ३ हजार वा सो बराबरको अन्य मुद्रा सटही गराउँदै आएका थिए । तर, अनलाइन सेवाबापत भुक्तानी गर्न पाउने व्यवस्था थिएन । प्रविधिको बढ्दो प्रयोगले विभिन्न सेवा प्रयोग गरी सेवाग्राहीले विदेशमा भएका आफन्त, साथीभाइको बैंक खाता वा पेपल, पयोनीरजस्ता माध्यमबाट भुक्तानी गर्ने गरेका छन् । यसबाट डिजिटल हुन्डी मौलाएकाले नयाँ व्यवस्था गर्न जरुरी भएको विभागका सहायक निर्देशक प्रशन्न पौडेल बताउँछन् ।

‘अब यस्तो भुक्तानी सेवाग्राही आफैले गर्न सक्नेछन् । यसका लागि प्रिपेड कार्ड लिन कुनै एक वाणिज्य बैंकमा रकम जम्मा गर्नु पर्ने हुन्छ,’ पौडल भन्छन् ।

विदेशमा भएका आफन्तका माध्यमबाट भुक्तानी गर्दा राज्यलाई कर आउँदैन । बैंकिङ माध्यमबाट जाँदा यस्तो प्रयोजनमा कति रकम बाहिरिने रहेछ भन्ने पनि थाहा हुन्छ । यस्तो सेवाबापत कति कर लिने भन्ने निश्चित भइसकेकोे छैन । अन्तरराष्ट्रिय स्तरका तालीम तथा ज्ञान प्राप्त गर्न, सूचना प्रविधिसँग सम्बद्ध प्रडक्ट डेभलपमेन्टका लागि चाहिने कुनै सफ्टवेयर तथा सेवा खरीद गर्न, डोमेन रजिस्ट्रेशन तथा वेब होस्टिङ गर्न, स्वास्थ्य र निरोगी रहन सहयोग पुर्‍याउने विभिन्न एपहरूको माग गर्न समेत सानोतिनो रकम तिर्न समस्या भइरहेकोमा नयाँ व्यवस्थाले सहज बनाउनेछ ।

अनलाइनमार्फत सेवा आयातलाई कानूनी मान्यता दिँदा विद्युतीय कारोबारले औपचारिकता पाउने र डिजिटल अर्थतन्त्रमा सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ । विदेशबाट विभिन्न सेवाहरू खरीद गरेबापत ससाना प्रकृतिका रकम सजिलोसँग भुक्तानी गर्ने व्यवस्था नहुँदा पूँजी पलायन, हुन्डीले प्रश्रय पाउने, तथा राज्यले कर गुमाउने र छाया अर्थतन्त्र मौलाउने राष्ट्र बैंकले औंल्याएको छ । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०७:२८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology