Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला

एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला

दैनिकी न्यूज

१९, पौष २०७७
एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले अभैm ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्न पुनः आवेदन खुला गरेको हो । यस्तो सुविधा उपयोगका लागि बैंक तथा वित्तीय संस्थाहरू (वाणिज्य, विकास र वित्त कम्पनी) ले माघ १६ गतेसम्म ग्राहकको सूचीसहित आवेदन पेश गर्नुपर्नेछ ।

यसअघि भदौ १ गतेदेखि असोज मसान्तसम्म एकमुष्ट पुनर्कर्जाका लागि आह्वान गरिएको थियो । उक्त आह्वानमा रू। १ खर्ब ४८ अर्ब मध्ये ५० अर्ब मात्र गएकाले बाँकीका लागि फेरि सूचना जारी गरिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । यससँगै राष्ट्र बैंकले पुनर्कर्जा कोष करीब रू। ४२ अर्ब बराबरको भए पनि यसको ५ गुणा अर्थात् २ खर्ब १२ अर्ब रुपैयाँ बराबरको यस्तो कर्जा दिन सक्ने क्षमता भएको उनले बताए ।

यद्यपि पुनर्कर्जाका लागि छुट्याएको २ खर्बमध्ये चालू आवमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत ७० प्रतिशतलाई दिने कार्यविधिमा व्यवस्था गरेको छ । साथै यसमध्ये २० प्रतिशत पुनर्कर्जा भने राष्ट्र बैंकले मूल्यांकनका आधारमा वितरण गर्ने छ । यसबाहेक बाँकी १० प्रतिशत लघुवित्त संस्थामार्फत पुनर्कर्जा वितरण गर्ने व्यवस्था मौद्रिक नीतिले गरेअनुसार कार्यविधिमा समेत उल्लेख छ । तर, अझैसम्म पनि यस्तो कर्जा लघुवित्तका लागि भने वितरण गरिएको छैन ।

यद्यपि, पछिल्लो समय अर्थ मन्त्रालयले लघुवित्तका लागि अव्यावहारिक प्रक्रियालाई मिलाएर सुविधा दिन राष्ट्र बैंकलाई पत्र पठाएको थियो । अब राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको एकमुष्ट पुनर्कर्जा लघुवित्त वित्तीय संस्थाहरूलाई छुट्याएको जानकारी दिँदै कार्यकारी निर्देशक ढकालले यसको तयारी पनि अब छिटै हुन लागेको बताए ।

पुनर्कर्जा कार्यविधिले उद्यमी स्वयम् कारोबार तथा व्यवसायमा संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रू। १५ लाखसम्मको कर्जालाई ‘लघु, घरेलु तथा साना उद्यम कर्जा’ मानेको छ । कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिएको छ । लघु उद्यम र विशेषमा नपरेका र बैंकले समयसमयमा तोकेको सबै पुनर्कर्जालाई साधारण पुनर्कर्जा भनेर कार्यविधिले तोकेको छ ।

एकमुष्ट प्रदान गर्ने पुनर्कर्जाको अवधि बढीमा १ वर्षको मात्र हुने र यस्तो कर्जा नवीकरण हुने छैन । तर, ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जा भने कोरोनाबाट अतिप्रभावितलाई बढीमा १ वर्ष र मध्यम तथा न्यूनप्रभावितलाई ६ महीनाका लागि दिइनेछ । यो पुनर्कर्जा भने नवीकरण गर्न सकिने राष्ट्र बैंकले बताएको छ । यस्तो कर्जाको अधिकतम सीमा रू। ५ करोडसम्म रहेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र साधारण पुनर्कर्जा ऋणीले ५ प्रतिशत ब्याजदरमा पाउनेछन् । विशेष पुनर्कर्जा भने ३ प्रतिशतमा ऋणीले उपयोग गर्न पाउनेछन् । बैंकले कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २० प्रतिशतसम्म मात्र माग गर्न सक्नेछन् । यस्तो कर्जा पाउनयोग्य ऋणीको भुक्तान अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फ कर्जा उपयोग गरेका ऋणीको हकमा भने नदोहोरिने गरी मात्र आवेदन स्वीकृत गर्ने बताएको छ । राष्ट्र बैंकका अनुसार बैंकहरूले पुनर्कर्जाका लागि आवेदन गरिएको कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्ने छ । बैंकहरूले आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम पाँचओटा ग्राहक तथा ऋणी समेटिएको हुनुपर्ने छ । यस्तो सुविधाका लागि रीतपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आनवेदनलाई स्वीकार नगर्ने राष्ट्र बैंकले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले यस्तो रकम प्राप्त गरेपछि कोभिड प्रभावित पुराना ऋणीलाई यसअघि दिएको जतिसुकै ब्याजदर भए पनि त्यसलाई घटाएर ५ प्रतिशत मात्र लिनुपर्ने छ । यसपछि त्यसबापत प्राप्त रकम भने बैंकहरूलाई कर्जा प्रवाहमा लगाउन पूँजी जुट्नेछ ।

यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - ०६:०६:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology