काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा सभा बोलाएको हो। कोरोना महामारीको कारण सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्नेगरी शेयरधनीहरुलाई मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेका छन्।
त्यसैगरी बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहको तर्फतबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्ने भएको छ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।