Logo

सोमवार, श्रावण २५ गते २०८३

images

धितोपत्र कारोबारको राफसाफ दुई दिनमा झार्ने तयारी

धितोपत्र कारोबारको राफसाफ दुई दिनमा झार्ने तयारी

दैनिकी न्यूज

२४, पौष २०७७
धितोपत्र कारोबारको राफसाफ दुई दिनमा झार्ने तयारी
images

काठमाडौं । धितोपत्र कारोबारमा हाल कायम रहेको तीन दिनको राफसाफ चक्रलाई दुई दिनमा झार्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट चक्र दुई दिनमा झार्ने तयारी गरेको हो ।

यस वर्षको नीति तथा कार्यक्रममा भएको यो व्यवस्थालाई बोर्डले माघदेखि कार्यान्वयनमा लैजाने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कारोबार राफसाफ चक्र दुई दिन कायम गर्ने गरी नियमावली संशोधनको तयारी भएको जानकारी दिए । सम्भवतः पुस महिनाभित्रै नियमावली संशोधन गरी कार्यान्वयनका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिइने ढुंगानाको भनाइ छ ।

धितोपत्र बजार पूर्ण अनलाइन कारोबार प्रणालीमा गइसकेकाले अब राफसाफ प्रणालीलाई पनि छिटो र प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए । अब पहिला जसरी आफूले बिक्री गरेको शेयर ट्रान्सफर गर्न ब्रोकर अफिसै धाउनुपर्ने अवस्था नरहेको र ब्रोकरहरूले पनि आईपीएसमार्फत रकम हस्तान्तरण गर्ने वातावरण बनिसकेकाले यो व्यवस्था कार्यान्वयनमा समस्या नहुने बोर्डको विश्वास छ ।

बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फस्र्योट प्रणालीलाई २ दिनेमा झार्ने योजना समावेश थियो । नेपालको पुँजी बजारमा दुई दिनभित्र कारोबारको राफसाफ गर्न सकिने वा नसकिने भन्ने विषयमा अध्ययन–अनुसन्धानपछि बोर्डले उक्त प्रणाली लागू गर्ने तयारी गरेको बताएको छ ।

यसअघि धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) की उपप्रबन्धक प्रवीण पन्धाकको संयोजकत्वमा कारोबार राफसाफ चक्र घटाउने विषयमा अध्ययन तथा अनुसन्धानका लागि समिति गठन गरिएको थियो । उक्त समितिले पनि दुई दिनभित्र झार्दा उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।

धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पनि दुई दिनको राफसाफका लागि मोडालिटी तयार गरिसकेको बताएको छ ।

हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम शेयर बिक्रीकर्ता आफूले बिक्री गरेको शेयर बराबरको रकम तीन दिनभित्र पाइसक्नुपर्नेछ भने खरिदकर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नुपर्नेछ । अबको व्यवस्थामा यी कार्य दुई दिनभित्र भइसक्नुपर्नेछ । यो खबर आजको आर्थिक अभियानमा छापिएको छ । 

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - ०५:२०:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology