काठमाडौं । साताको पहिलो कारोबार आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.२४ अंकले बढेर २ हजार २३५.७२ विन्दुमा आएर कारोबार बन्द भएको छ, यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो । यसअघि पुस २३ गते २१९४.४९ को विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ५० लाख ३० हजार ८३६ कित्ता सेयर ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँमा कारोबार भएका छन् । यस दिन ५७ हजार १७१ वटा कारोबार भएका छन् ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ ।
यो दिन विकास बैंक समूह सर्वाधिक ८८.४५ अंकले बढेको छ । बैकिङ समूह ५९.६१ अंक, व्यापार समूह ७८.०३ अंक, होटल्स समूह २०.५४ अंक, जलविद्यूत समूह १६.६५ अंक, वित्त समूह १९.२१ अंक, निर्जिवन विमा समूह ३९.०८ अंक, उत्पादन समूह २५.९७ अंक, अन्य समूह ३.१६ अंक, लघुवित्त समूह २१.८ अंक र म्युचल फण्ड समूह ०.०८ अंकले बढेका छन् । उता निर्जिवन विमा समूह १७.१६ अंकले गिरावट आएको छ ।
यो दिन प्रभु बैंकको सबैभन्दा बढी ४० करोड २९ लाख ९१ हजार ९८ रुपैयाँ बराबरको कारोबार भएको छ । कुमारी बैंकको ३० करोड ४५ लाख १६ हजार ४७० रुपैया, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड १२ लाख ४ हजार ८९५ रुपैयाँ, नबिल बैंकको २० करोड ३९ लाख ३९ हजार ४१२ रुपैया, प्राइम कमर्सियल बैंकको २० करोड ३८ लाख ४० हजार ८३९ रुपैयाँ, सिद्धार्थ बैंकको १९ करोड ७३ लाख १६ हजार ६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सर्वाधिक कमाउने कम्पनी
नेप्से बढेसँगै यस दिन ६ कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन प्रभु लाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर करिब १० प्रतिशतको हाराहारीमा बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
यो दिन निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्यमा आज ४ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
