Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपालमा १० लाख डोज कोरोना खोप भोलि आइपुग्ने, सुरुमा कसलाई लगाइन्छ खोप ?

नेपालमा १० लाख डोज कोरोना खोप भोलि आइपुग्ने, सुरुमा कसलाई लगाइन्छ खोप ?

दैनिकी न्यूज

७, माघ २०७७
नेपालमा १० लाख डोज कोरोना खोप भोलि आइपुग्ने, सुरुमा कसलाई लगाइन्छ खोप ?
images

काठमाडौं । भारत सरकारले नेपाललाई दिन लागेको दस लाख डोज कोरोना खोप भोलि ( बिहीवार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भन्दै भोलि काठमाडौं आइपुग्ने बताए । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको 'एजेडडी१२२२' नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । ‘हामीले अग्रपंक्तिमा कार्यरत समूहलाई खोप दिनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छौं,’ बुधबार कान्तिपुरसँगको कुराकानीमा उनले भने । औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - १६:४५:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology