Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दोस्रो त्रैमासमा २.२६ प्रतिशतले घट्यो वाणिज्य बैंकहरूको औसत नाफा

दोस्रो त्रैमासमा २.२६ प्रतिशतले घट्यो वाणिज्य बैंकहरूको औसत नाफा

दैनिकी न्यूज

१६, माघ २०७७
दोस्रो त्रैमासमा २.२६ प्रतिशतले घट्यो वाणिज्य बैंकहरूको औसत नाफा
images

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औसत नाफा घटेको पाइएको छ । कोरोना विपद्का कारण गत आवको चौथो त्रैमासदेखि नै वाणिज्य बैंकहरूको औसत नाफा घट्न शुरू गरेको थियो । त्यो क्रमले चालू आवको दोस्रो त्रैमासमा पनि निरन्तरता पाएको छ । यद्यपि, घट्ने दर भने कम हुँदै गएको छ ।

चालू आवको दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकमध्ये २६ ओटाको ९नेपाल स्टक एक्सचेन्जमा दर्ता भएकाको मात्र० नाफा औसतमा २ दशमलव २६ प्रतिशतले घटेको हो । बिहीवारसम्म उनीहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले भने यस अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छैन । उक्त बैंक नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छैन । समीक्षा अवधिमा २६ वाणिज्य बैंकहरूले कुल २९ अर्ब ३२ करोड ४३ लाख खुद नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको भन्दा ६७ करोड ७७ लाख रुपैयाँले घटी हो । गत आवको सोही अवधिमा बैंकहरूले रू। ३० अर्ब २१ लाख नाफा कमाएका थिए ।

गत आवको चौथो त्रैमाससम्ममा २७ वाणिज्य बैंकहरूको औसत नाफा १३ दशमलव २१ प्रतिशतले घटेको थियो । यस्तै, चालू आवको पहिलो त्रैमास उनीहरूको औसत नाफा ६ दशमलव ५३ प्रतिशतले घटेको छ ।

अहिले भने २६ वाणिज्य बैंकलाई आधार मान्दा २ दशमलव २६ प्रतिशतले औसत नाफा घटेको छ । त्यसअनुसार कोरोना संकटबाट बैंकहरूको व्यवसाय विस्तारै लयमा फर्किंदै गएको पनि देखिएको छ ।

केही वाणिज्य बैंकहरू मर्जरमा जाँदा नाफा कम मात्रामा घटेको बताइएको छ । पछिल्लो समय एनएमबी बैंक, कुमारी बैंक, प्राइम बैंक, मेगा बैंकलगायत वाणिज्य बैंकहरूले केही विकास बैंकहरूलाई गाभेका छन् । यसरी दुई बैंक मर्ज हुँदा उनीहरूको नाफा बढेको हो । त्यसैको असरले समग्र नाफामा कम असर देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘मर्जरको प्रभावले पनि नाफामा कम असर देखिएको हो ।

मर्जर नभएको भए नाफा अझै प्रभावित हुने थियो,’ उनले भने, ‘मर्जरलाई छुट्ट्याएर हेर्ने हो भने गत आव ६ महीना र चालू आवको ६ महीनाको नाफाको अन्तर अझै लामो हुने थियो ।’

आर्थिक गतिविधि कम हुँदा, बैंकहरूको व्यावसायिक गतिविधि कम हुँदा आम्दानी घट्न गई नाफा पनि घटेको उनको भनाइ छ । ‘अहिले हामीले ठूलो मात्रामा लोन लस प्रोभिजनिङ पनि गरेका छौं, त्यसैको असरले पनि नाफा रकम बढ्न नसकेको हो,’ उनले भने ।

अघिल्ला आवहरूमा बैंकहरूको नाफा उलेख्य रूपमा वृद्धि हुने गरेको थियो । तर, गत आवको शुरूदेखि भनेबैंकहरूको नाफा वृद्धिदर कम हुँदै आयो । कोरोना संकट शुरू भएपछि गत आवको चौथो त्रैमासबाट भने बैंकहरूको नाफा नै घट्न थालेको छ । तर, अब भने विस्तारै नाफा रकम बढ्दै जाने बैंकहरूको अपेक्षा छ ।

बैंकर्स संघका अध्यक्ष दाहालले अबका दिनमा बैंकहरूको व्यवसाय राम्रो हुँदै जाने बताए । ‘अहिले बैंकहरूको व्यावसायिक अवस्था सुधारउन्मुख नै छ । अबका दिनमा कोरोनाको संकट कम हुँदै जाने अपेक्षा गरेका छौं,’ उनले भने ।

कोरोना भाइरस नियन्त्रण गर्न झन्डै ४ महीनासम्म लगाइएको बन्दाबन्दीको असर उद्योग क्षेत्रसहित बैंकबाट ऋण लिएका ऋणीहरूमा प¥यो । त्यसपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्पmत कोरोना प्रभावित ऋणीहरूको ब्याज तथा किस्ता तिर्ने म्याद थप गरिदियो । फलस्वरूप बैंकको मुख्य आम्दानीका रूपमा लिइने ब्याज आम्दानी पूर्ण रूपमा हुन सकेको थिएन । त्यसैको असरले नै बैंकको नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् ।

समीक्षा अवधिमा १० वाणिज्य बैंकको मात्रामा नाफा बढेको छ भने १६ ओटाको घटेको छ । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकको ३७ प्रतिशत, एनआईसी एशिया बैंकको ३ प्रतिशत, प्राइम कमर्शियलको ३९ प्रतिशत, एनएमबीको ४७ प्रतिशत र प्रभु बैंकको ४० प्रतिशतले नाफा बढेको छ । यसैगरी मेगा बैंकको ३७ प्रतिशत, कुमारी बैंकको ५१ प्रतिशत, सनराइज बैंकको १ प्रतिशत, नेपाल बैंगलादेश बैंकको ३६ प्रतिशत र सिटिजन्स इन्टरनेशन बैंकको २७ प्रतिशतले नाफा बढेको छ । अन्य बैंकहरूको भने नाफा घटेको सम्बद्ध बैंकहरूको वित्तीय विवरणले देखाएको छ ।

नेप्सेमा सूचीकृत बैंकमध्ये नाफा कमाउने मामलामा यसपटक ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा आएको छ । समीक्षा अवधिमा उक्त बैंकले रू. २ अर्ब ३१ करोड ५१ लाख नाफा कमाएको छ । यस्तै, दोस्रो नम्बरमा रहेको एनआईसी एशियाले रू. २ अर्ब ६ करोड ५ लाख नाफा कमाएको छ । यस्तै, तेस्रो स्थानमा रहेको नबिल बैंकले रू. २ अर्ब १ करोड ६० लाख नाफा कमाएको छ ।

यो खबर आजको आर्थिक अभियानमा ममता थापा र मिलन विश्वकर्माले लेखेका छन् । 

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - ०६:३६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology