काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको हो ।
यसअघि आयोजना प्रभावित स्थानीयलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो । कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरोशेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
यो आईपीओ विक्री गर्न कम्पनीले गत माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।