Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चीनले नेपाललाई दिने कोरोना खोपको डोज बढायो

चीनले नेपाललाई दिने कोरोना खोपको डोज बढायो

दैनिकी न्यूज

२४, माघ २०७७
चीनले नेपाललाई दिने कोरोना खोपको डोज बढायो
images

काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना विरुद्ध दिने भ्याक्सिनको डोज बढाउने भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप ५ लाख डोज दिने प्रतिबद्धता जनाएका हुन् । परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो । चिनियाँ विदेशमन्त्री वाङले भने दूतावासले जानकारी दिएको भन्दा दुई लाख बढी खोप अनुदानमा दिने बताएका हुन् । वाङले ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिने पनि बताएका छन् । ज्ञवाली र वाङबीच दुई मुलुकको आपसी चासोका विषयमा कुराकानी भएको पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । नेपाललाई यसअघि भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतका अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता अस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकीलाई प्राथमिकता दिने नीति’ अनुसार नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको हो ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १२:१६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology