Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कनिष्ठलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकमा विरोध

कनिष्ठलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकमा विरोध

दैनिकी न्यूज

२५, माघ २०७७
कनिष्ठलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकमा विरोध
images

काठमाडौँ । रोलक्रममा कनिष्ठ कर्मचारीलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकका कर्मचारी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकमा सक्रिय कर्मचारी संगठनहरूले गभर्नरको कार्यालय घेराउदेखि विरोधपत्र बुझाउनेसम्मका कार्यक्रम गरेका छन् ।

केही दिनअघि आन्तरिक मूल्यांकनका आधारमा गरिएको कर्मचारी बढुवा प्रक्रियामा वरीयतामा ६०औं स्थानमा रहेका जगदीश कुमारलाई १४औं नम्बरमा ल्याएर बढुवा गरेको कर्मचारी संगठनको आरोप छ । नियमन विभागमा सहायक निर्देशक पदमा कार्यरत जगदीश २०६९ सालमा राष्ट्र बैंकको जागिरमा प्रवेश गरेका हुन् । स्रोतका अनुसार उनी राष्ट्र बैंकका सञ्चालक सुबोधकुमार कर्णसँग निकट छन् । पटकपटक लिखित परीक्षा दिँदा पनि सफल नभएका जगदीशलाई कर्णकै दबाबमा बढुवा गरेको संगठनहरूको गुनासो छ ।

नेकपा निकट कर्मचारीहरूकै संगठन नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई विरोधपत्र बुझाएका छन् । साढे दुई दशक काम गरेका दक्ष कर्मचारीलाई बेवास्ता गर्दै कनिष्ठ कर्मचारीलाई बढुवा गरेर राष्ट्र बैंकको गरिमामै आँच आउने काम गरेको विरोधपत्रमा उल्लेख छ । ‘हाल संस्थाबाट प्रकाशित अधिकृत द्वितीय पदको पदोन्नतिको नतिजाले आम कर्मचारीलाई विगतका कालारात्रिको पुनः स्मरण गराएको छ,’ विरोधपत्रमा भनिएको छ, ‘संस्थाले सुम्पिएको जिम्मेवारी र अधिकारलाई आफ्नै प्रतीक सम्पत्ति ठान्दै मातहतका कर्मचारीलाई आस्थाका आधारमा विरोध गरी केही अराजक पात्रलाई मात्र स्थान दिनु खेदजनक छ ।’

व्यवस्थापले निष्पक्ष रूपमा निर्णय नगरेकाले आफूहरू विरोधमा उत्रिएको राष्ट्र बैंक कर्मचारी संघका कावा अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले बताए । ‘व्यवस्थापनबाट यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता मागेका छौं,’ उनले भने, ‘राम्रा र क्षमतावान् मान्छेलाई बेवास्ता गर्दै भनसुनका आधारमा सीमित मान्छेलाई अघि बढाउनु भएन ।’ आन्तरिक मूल्यांकनका आधारमा कर्मचारीको बढुवा गरिने नियमित प्रक्रिया भएको र सो काम नियमित र कानुनसम्मत नै भएको गभर्नर अधिकारीको भनाइ छ । ‘व्यवस्थापनले नियमसंगत योग्यता पुगेका कर्मचारीलाई नै बढुवा गरेको हो,’ उनले भने । बैंक व्यवस्थापनले रिक्त उपनिर्देशक पदमा कार्यसम्पादन मूल्यांकनमा १ सय ८९।७१ अंक प्राप्त गर्ने १५ जना सहायक निर्देशकलाई बढुवा गरिएको जनाएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०७:३३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology