काठमाडौं । कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको हो । सो अभियानअन्तर्गत अब कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाइने भएको छ । यसअघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई खोप लगाइसकिएको छ । अब भने कर्मचारी, जनप्रतिनिधि, एम्बुलेन्स, र शववाहक चालकलगायतलाई खोप लगाउन लागिएको हो । हालसम्म १ लाख ८४ हजार फ्रन्टलाइनरले खोप लगाइसकेका छन् ।
पहिलो मात्रास्वरूप ४ लाख ३० हजार जनालाई लगाउने लक्ष्य तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, दुई फागुनदेखि आठ फागुनसम्म कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिइने भएको छ । जसमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाइने बताए । यस्तै, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइनेछ ।
खोप लगाउन जाँदा सबैले आआफ्नो कार्यालयको परिचयपत्र साथमा लिएर जानसमेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोभिड १९ विरुद्धको खोप दिने योजना अघि सारेको सरकारले केही दिनमै भारतबाट अनुमानित २० लाख डोज ल्याउने तयारी थालेको छ ।
यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।