काठमाडौंं । सोमबार ९२ अंकले बढेर नयाँ रेकर्ड बनाएको शेयर बजारले मंगलबार (आज) सो रेकर्डलाई तोड्दै २ हजार ६ सय विन्दुमाथिको नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से सूचक १५.५० अंकले बढेर २ हजार ६ सय १.५१ विन्दुमा पुगेको छ । यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो । यो राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले बढेर ४७३.५३ को उचाइमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ। यस दिन कारोबारमा आएका ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । ७ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।
मंगलबार बैंकिङ समूहको सूचक बढ्दा नेप्सेलाई नयाँ रेकर्ड कायम गर्न सहयोग पुगेको हो । मंगलबार बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले बढेको छ भने विकास बैंक र अन्य उपसमूहको सूचक पनि क्रमशः ०.२४ र ०.२७ प्रतिशतले बढेको छ। उत्पादनमूलक उपसमूहको सूचक भने सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ ।
मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराइज फस्ट म्युचुअल फण्ड र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यसैगरी सिद्धार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक र एनएमबि बेंकको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यता साधना लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.१५ प्रतिशतले घटेको छ भने पाँचथर पावर कम्पनीको ५.६६ प्रतिशत, बरुण हाइड्रोपावरको ५.५६ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.०६ प्रतिशत र महुली सामुदायीक लघुवित्तको ४.७४ प्रतिशतले घटेको छ ।
यो दिन नबिल बैंकको सबैभन्दा धेरै ५४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको ४२ करोड ५० लाख, नेपाल बैंकको ३९ करोड १६ लाख, नेको इन्सुरेन्सको ३७ करोड ३४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३३ करोड ६७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३० करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २६ करोड ९४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २६ करोड १० लाख रुपैयाँ, एनएमबी बैंकको २४ करोड ७० लाख रुपैयाँ र कुमारी बैंकको २० करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।