Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कोरोना बीमाः दायित्व भने सरकारको भुक्तानी बीमा कम्पनीबाट

कोरोना बीमाः दायित्व भने सरकारको भुक्तानी बीमा कम्पनीबाट

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
कोरोना बीमाः दायित्व भने सरकारको भुक्तानी बीमा कम्पनीबाट
images

काठमाडौं । कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ४८ हजार ६९ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले पछिल्लोपटक सार्वजनिक गरेको शुक्रवारसम्मको तथ्यांकअनुसार उनीहरूले रू। ४ अर्ब ६६ करोड ३० लाख दाबी भुक्तानी लिएका छन् ।

गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएपछि कोरोना बीमा निकै विवादमा परेको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी छिटो भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘पहिला कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको थियो । विशेषगरी असोज र कात्तिकमा बढी दाबी परेकाले यसमा ढिलाइ भएको हो,’ उनले भने, ‘तर, अहिले यसको दाबी भुक्तानीमा समस्या छैन । दाबी पाउनयोग्य सबै बीमितले दाबी रकम पाउने छन् ।’

कोरोना बीमासम्बन्धी मापदण्डअनुसार रू। ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारको कोषबाट हुन्छ । हाल कोरोना बीमाको दाबी भुक्तानीले सो सीमा पार गरिसकेको छ । तर, दाबी भुक्तानी भने बीमा कम्पनीहरूले आफ्नै कोषबाट गर्दै आएका छन् ।

केही दिनअघि बीमा समिति र नेपाल पुनर्बीमा कम्पनीले पनि आफ्नो दायित्व बराबरको रकम बीमा पुलमा पठाइसकेका छन् । त्यसबाट पनि भुक्तानी व्यवस्थापन भइरहेको छ । समितिका कार्यकारी निर्देशक पौडेलले हाल बीमा कम्पनीहरूबाट नै दाबी भुक्तानीको व्यवस्थापन भइरहेको बताए । ‘ग्राहकको सजिलोका लागि बीमा कम्पनीहरूबाट नै भुक्तानीको व्यवस्थापन गरिएको हो । पछि आवश्यक प्रक्रिया पुर्‍याएर सरकारबाट त्यो रकम निकासी हुन्छ ।’

चालू आवको बजेटमा नै कोरोना बीमाको दायित्व सरकारले बेहोर्ने व्यवस्था गरिएको छ । त्यसअनुसार साढे ३ अर्ब रुपैयाँ माथिको भुक्तानी सरकारबाट हुने व्यवस्था गरिएको हो । त्यसभन्दा तलको भुक्तानी भने बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीबाट गर्ने व्यवस्था गरिएको थियो ।

कोरोना बीमाको दाबी भुक्तानीमा साढे १ अर्ब २० निर्जीवन बीमा कम्पनीे तथा बीमा समिति र नेपाल पुनर्बीमा कम्पनीको १र१ अर्ब दायित्व रहेको थियो, त्यसबापतको दाबी भुक्तानी उनीहरूबाट भइसकेको छ ।

कोरोना बीमामा हालसम्म ८४ हजार ८७४ ओटा पूर्ण कागजपत्रसहितको दाबी आवेदन परेको छ । रकमका आधारमा त्यो ८ अर्ब भन्दा माथि पुग्ने समितिका कार्यकारी निर्देशक पौडेलले बताए । सोही मध्येमा नै हालसम्म यतिकाले दाबी भुक्तानी पाएका हुन् । तर, अब भने व्यापक मात्रामा दाबी नपर्ने उनको भनाइ छ ।

‘अहिले कोरोनाको खोप लगाउन पनि शुरू भइसकेको छ । त्यसमाथि पीसीआर परीक्षण पनि एकदम कम मात्रामा छ,’ उनले भने, ‘त्यसअनुसार अब दाबी पनि नगन्य मात्रामा पर्ने अनुमान छ ।’

४८२ ओटा आवेदन दाबीका लागि अयोग्य देखिएको छ । नक्कली पीसीआर रिपोर्ट भएका, दोहोरो बीमा गरेकाहरूको दाबी अयोग्य भएको हो ।

आवेदनमध्ये १० हजार ९४६ आवेदन स्वास्थ्य मन्त्रालयमा प्रमाणीकरणको चरणमा रहेको छ । ग्राहकको पीसीआर रिपोर्ट मन्त्रालयले प्रमाणीकरण गरेपछि मात्रा दाबी भुक्तानी गर्ने व्यवस्था छ । बीमा समितिले गत वैशाखदेखि लघुबीमाअन्तर्गत कोरोना बीमा कार्यक्रम शुरुआत गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत र बाँकी रहेको बीमा कम्पनीलाई बराबर मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ । यसको व्यवस्थापन भने नेपाल बीमक संघले गर्दै आएको छ ।

गत भदौ २९ गतेदेखि यता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू। २५ हजार पाउने छन् । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलको आधारमा रू। ७५ हजारसम्म भुक्तानी पाउँछन् । समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर यस्तो व्यवस्था गरेको थियो । भदौ २९ गतेभन्दा अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांक बराबरको रकम नै भुक्तानी पाउँछन् ।

यो खबर आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०६:२३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology